काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १ सय अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ३६ हजार २ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २ सय ८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी दुई लाख २१ हजार १ सय ५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले यही चैत २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी वैशाख ९ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्रानपी बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ ।
Comments are closed.