काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आजदेखि आईपीओ खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ खुला गरेको हो।
आयोजना प्रभावित स्थानीयहरूले आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ४ गतेसम्म बिक्री खुला हुनेछ। आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।
आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नु अघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ।स्थानीयमा शेयर विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू। ३ अर्ब ६५ करोड कायम हुनेछ । कम्पनीको अधिकृत पूँजी ३ अर्ब ७५ करोड र जारी पूजी ३ अर्ब ६५ करोड रहेको छ ।
कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
Comments are closed.