काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पिजे क्लबसँगको सहकार्यमा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पिजे क्लबबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा आज इप्पान अध्यक्ष गणेश कार्की र पिजे क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेबीच सम्झौतापत्र आदानप्रदान भएको छ । इप्पान स्थापनाको २५ वर्ष पुगेका अवसरमा इप्पानमा आबद्ध ऊर्जा उत्पादक कम्पनीले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पिजे क्लबका अध्यक्ष द्वारिका काफ्लेको भनाइ छ । यसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीले पठाएको फोटोलाई पिजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोटगरी प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरूबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने तस्वीरलाई क्रमशः रू ३०, २० र १० हजार राशिसहित पुरस्कृत गरिनेछ ।
अर्कोतर्फ पिजे क्लबकै अगुवाइमा इप्पानमा आबद्ध सदस्य कम्पनीहरूले प्रवद्र्धन गरेका आयोजनाहरूको तस्वीर सङ्कलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले सङ्कलन गरेका तस्वीरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरू इप्पानको सम्पत्ती मात्रै हुनेछन् । सम्झौतापत्र आदानप्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पिजे क्लबबाट अध्यक्ष काफ्लेसहित महासचिव अमूल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।
फोटो प्रतियोगितामा भाग लिनका लागि यही पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्नेछ । त्यस्तै रजतजयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशिको छोटो भिडियो तथा वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकाले सहभागिताका लागि इप्पानले आग्रह गरेको छ । त्यसका लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्नेछ ।
Comments are closed.