काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । आज आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए ।
उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए । उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए। उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताएका छन् । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ ।
“बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ”, उनले भने। रासस








Comments are closed.