काठमाडौं ८ बाट गठबन्धनको साझा उम्मेदवार बनेका को हुन् जीवनराम श्रेष्ठ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ८ बाट बाम(लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका छन् । आइतवार काठमाडौं क्षेत्र नम्वर ८ स्थीत निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई श्रेष्ठले मनोनयनपत्र दर्ता गराएका हुन् । श्रेष्ठ संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् । उनले २०७९ असार १३ गते राष्ट्रपतिसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यभार सम्हालेका थिए । जीवनराम श्रेष्ठ राजधानी काठमाडौंको एक कर्मठ राजनीतिक योद्धाका रुपमा स्थापित नाम हो । उनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष समेत हुन् ।

बुबा कृष्णराम श्रेष्ठ र आमा बसन्तमायाको सन्तानका रुपमा उनको जन्म २०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा भएको थियो । विद्यालयमा अध्ययनरत रहँदाको समय उनको जीवनयात्रामा महत्वपूर्ण मोडका रूपमा स्थापित भए । युवा उमेरमा नै उहाँ वामपन्थी– लोकतान्त्रिक आन्दोलनमा सहभागी भए । निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा उनको सक्रिय सहभागीता रह्यो ।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यसको कार्यकर्ताको रूपमा उनको सङ्गठित राजनीतिक जीवन आरम्भ भयो । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भए र २०४२ सालदेखि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनमा सहभागि हुँदै उनलाई युवा नेताका रुपमा स्थापित गर्दै लग्यो । तत्कालीन नेकपा (माले) बाट शिक्षित हुँदै पार्टीको संगठन निर्माण, विस्तार जस्ता जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने क्रममा उनले २०४३ सालमा काठमाडौं वडा नं १५ को सक्रिय दलको सचिव बनी भूमिगत पार्टीको विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेले । उनले २०४६ सालको जनआन्दोलनमा स्थानिय विद्यार्थी तथा युवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलन अघि बढाउने क्रममा ुलोकतन्त्रका निम्ति सङ्घर्षरत कार्यकर्ताुका रूपमा आफ्नो पहिचान विस्तार गरे । यसक्रममा विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गरे । २०४७ सालमा स्थापित प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्थादेखि नै सक्रिय उनि २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष सम्म भएर महत्वपूर्ण भूमिका निर्वाह गरे ।

पार्टीको भ्रातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात् पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिकामा रहे । जनताको साथ र माया पाएर उहाँ राजनीतिमा स्थापित हुँदै अघि बढे । २०४९ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं १५ को वडाध्यक्षमा निर्वाचित भए । यस जिम्मेवारीले उनलाई जनताको समस्याहरु बुझने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने बिषयमा पारंगत बनायो । उनको कार्यकालमा तत्कालिन समयमा विकासमा निकै पछाडि परेको वडा नं १५ मा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय, भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भएका थिए भने डल्लु आवास योजनाले मुर्त रुप लिएको थियो । त्यससमय काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष जीवन मानन्धरको अस्वस्थतापछि उक्त वडाको समेत वडाध्यक्ष भइ कार्यभार सम्हाले ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको विरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई उनले कुशलतापूर्वक सम्पन्न गर्नुभयो । २०६५ सालको नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भइ काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी पुरा गरे । उनि २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट लोकप्रिय मत सहित दोश्रो कार्यकालको लागि केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७२ सालको भूकम्पका बेला राहत र उद्धार कार्यमा आफूलाई समर्पित गरेका श्रेष्ठ जनसरोकारका अन्य विषयमा आफूलाई सक्रिय बनाउँदै अघि बढे । संसदीय निर्वाचनमा पनि उनको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । स्थानीय सरोकारका विषयमा जानकार तथा समग्र निर्वाचन क्षेत्र विकासमा भएको सक्रियता र इमानदारीको कदर गर्दै २०७४ को आम निर्वाचनमा पार्टीले वाम गठबन्धनका तर्फबाट उनलाई काठमाडौं ८ बाट संघीय प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको थियो र उनले लोकप्रिय मतसहित विजय हाँसिल गरे । संसद सदस्यका रुपमा संसदभित्र उनले खेलेको भुमिका सबैका लागि स्मरणीय छ ।

jutta mela

श्रेष्ठ २०७५ जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता गरी गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पार्टीका दुई अध्यक्षमध्ये एक केपी शर्मा ओलीले पार्टीलाई नीति र विधि अनुसार नचलाउने र असंवैधानिक ढङ्गले २०७७ पुस ५ र २०७८ वैशाख ११ गते प्रतिनिधिसभा बिघटन गरेपछि मुलुकलाई प्रतिगमनतिर लैजाने गलत कृयाकलाप विरुद्ध संघर्षमा होमिएर संविधान र लोकतन्त्रको रक्षा गर्न र संसदको पुनर्स्थापनाको पक्षमा सक्रिय भुमिका खेले । उनि २०७८ भदौ ९ मा कम्युनिष्ट आन्दोलनको पुनर्गठन स्वरुप स्थापना भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सचिवको जिम्मेवारीमा रहे ।

नेपालको खेलकुद क्षेत्रमा जीवनराम श्रेष्ठ स्थापित नाम हो । पार्टी भित्र खेलकुदका मुद्धा प्रवेश गराउन उनको अग्रणी भूमिका छ । उनि २०५३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव नियुक्त भएका थिए । ६ महिनाको छोटो कार्यकालमा उनले सम्झनायोग्य कार्यहरु गरे । उनले चीन सरकारको सहयोगमा आठौं साफ खेलकूद प्रतियोगिताको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेले । ललितपुरको सातदोबाटोमा निर्मित अन्तर्राट्रिय प्रतियोगिता गर्न सकिने स्विमिङ्गपुल, सुटिङ्ग रेञ्ज, त्रिपुरेश्वरस्थित रंगशाला र अन्य खेलमैदानको स्तरवृद्धि उनकै योगदानको परिणाम हो । उनकै अग्रसरतामा नेपालका ओलम्पियन तथा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गरेर खेलाडीहरुलाई प्रोत्साहित गर्ने कार्यको प्रारम्भ गरिएको थियो । उनि दोश्रो पटक २०६३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिवको जिम्मेवारीमा रहंदा १० वर्षसम्म संचालन हुन नसकेको पाँचौ राट्रिय खेलकूद प्रतियोगिता काठमाडौंमा सम्पन्न गर्न सफल भए । श्रेष्ठले मुलुकमा पहिलो पटक स्पोर्टस एकेडमी स्थापना गर्ने पहल गर्नुभयो र स्पोर्टस हस्पिटल स्थापनाको योजना पनि अघि बढाउनुभयो । साथै उनले खेलकुलको चौतर्फी विकासको योजना र दृष्ट्रिकोण सहित ुभिजन २०२०ु को योजना पनि अघि सारे । तर उनले सरकार परिवर्तनसँगै ुलोकतन्त्रिक मुल्य मान्यता र संस्कारको विकासका लागिु भन्ने भन्ने कारण सहित २०५४ र २०६७ सालमा सदस्य सचिव पदबाट राजीनामा गरे । तत् पश्चात् उनि नेपाल ओलम्पिक कमिटीको दुई पटक निर्वाचित महासचिव रही हाल दोस्रो पटक निर्वाचित अध्यक्ष हुन् भने नेपाल स्की संघको पनि अध्यक्ष हुन् ।

उनले आफ्नो जीवन नै देश, जनता र श्रमजीवि जनताको मुक्तीका लागि समर्पित गरेका छन् । स्थानीय राजनीतिबाट प्रशिक्षित उनि काठमाडौंको मुद्दालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउने स्थापित युवा नेतृत्वको रुपमा चिनिन्छन् । उपत्यकाका जनताको अधिक सरोकार रहेको गुठी विधेयकको विरुद्धको आन्दोलनमा उनको सक्रिय सहभागिताले जनताको सरोकारका विषयमा आफ्नै पार्टीको विपक्षमा पनि उभिनसक्ने नेताका रुपमा उनि परिचित छन् । काठमाडौंको सांस्कृतिक बैभवको संरक्षण, भौतिक पूर्वाधारको विकास र स्थानीय जनताका भावनाको राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गराउन जीवनराम श्रेष्ठ निर्बिकल्प व्यक्तित्व हुन् । वातावरणीय प्रदुषणले आक्रान्त बनाउदै लगेको उपत्यका र जनसंख्याको चापले थिलोथिलो बनेको शहरलाई कसरी व्यवस्थित र जीवन्त शहरको रुपमा उठाउने भन्ने अर्को चुनौती काठमाडौले बोकेको छ ।

नगरपालिका, प्रादेशिक सरकार र केन्द्रीय सरकारबीच समन्वय र तालमेल गर्न सक्ने क्षमतावान र अनुभवी राष्ट्रिय नेतृत्वको आवश्यकता यस क्षेत्रले महसुस गरेको छ । काठमाडौंको जनताको भावना बुझ्दै, यहाँका जनताको बीचमा लोकप्रियता र सफलता हाँसिल गर्दै अघि बढेका जीवनराम श्रेष्ठ राष्ट्रिय राजनीतिमा राजधानीको प्रतिनिधित्व गर्न सक्ने सक्षम नेताको रुपमा उदयमान छन् ।

You might also like

Comments are closed.