सुर्खेत । सुर्खेत जिल्ला अदालतले चालू आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७४० अर्थात् ७२.२७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले कोभिड-१९ महामारीकाबीच वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको जनाएको छ । अदालतले चालू आवमा ७० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।
अदालतले जिम्मेवारी सरी आएका ७१३ थान र नयाँ दर्तातर्फ एक हजार २७ गरी जम्मा एक हजार ७४० थान मुद्दा फर्छ्यौट गरेको हो । अदालतद्वारा आज आयोजित पत्रकार सम्मेलनमा से्रस्तेदार ठाकुरप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ मा मुद्दा दर्ता हालसम्मकै बढी भएको बताए। उनका अनुसार अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फर्छ्यौट गर्दै आएको छ। सरल मार्गमा पर्ने मुद्दा छ महिना, सामान्य मार्गमा पर्ने मुद्दा एक वर्ष, विशेष मार्गमा पर्ने मुद्दालाई १८ महिनाभित्र फैसला गर्दै आएको छ ।
चालू आवमा नयाँ र पुराना गरी दुई हजार ४०९ मुद्दामध्ये एक हजार ७४० थान मुद्दा फर्छ्यौट भएका हुन् । स्रेस्तेदार पौडेलले अदालतमा तीन जना न्यायाधिशको दरबन्दी भए पनि यो वर्ष दुई न्यायाधिशले मात्र मुद्दा हेरेको जानकारी दिए। न्यायाधिश डा राजेन्द्रकुमार आचार्यले अदालतमा मुद्दाको भार धेरै रहे पनि आफूहरू दुई महिना स्थानीय तह निर्वाचनको काममा खटिएको बताए।
“मुद्दाको फैसलाका साथै थुनछेक आदेश, प्रशासनिक आदेश, विवाहदर्ता अधिकारी भएर थुपै्र काम गर्नुपरेको छ”, उनले भने, “मुद्दाको सङ्ख्या अधिक छ, दरबन्दीअनुसार न्यायाधिश नहुँदा मुद्दाको कार्यबोझ पनि बढेको छ ।” अर्का न्यायाधिश मनोज श्रेष्ठले वादीप्रतिवादी पक्षले सात महिनासम्म पेशी सारेर समय टार्ने प्रवृत्ति देखिएको बताए। जिल्ला अदालतमा लागू औषध सेवन तथा कारोबार, सम्बन्धविच्छेद, जबरजस्ती करणीका मुद्दा बढी पर्ने गरेको बताइएको छ ।
Comments are closed.