ज्यामरुककोत पुग्न दुईतर्फी पदमार्ग

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने करिब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोत पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ । पदमार्ग र प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोतस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

यहाँ विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन् । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र खड्गभवानीकोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार निर्माण, घेराबार, विभिन्न देवीदेवताका मन्दिर निर्माण, टेलिकमको फोर जी टावर निर्माण लगायतका पूर्वाधारहरु निर्माण भएपछि पहिला पहिला सुनसान देखिने यो स्थल यहीले सबैलाई आकर्षित गर्न सफल भएको छ ।

भकुण्डेदेखि खड्गभवानीकोत जोड्ने पक्की सिँढीसहितको २ सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३ सय ५३ सिँढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानीकोत पुग्न सहज भएको छ ।

आव २०७५/७६ मा मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त १४ लाख ९९ हजार ४ सय ८६ रुपैयाँ र उपभोक्ताको तीन लाख २१ हजार रुपैयाँ बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी –२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए । पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १ सय ९० मिटर दूरीमा फलामको रेलिङ राखिएको बताए । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिँड्डुल गर्न सकिनाका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीयवासी हरि घिमिरेले विश्वास गरे ।

यसैगरी कन्थराज थानदेखि खड्गभवानीकोतसम्म जाने २ सय ४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ । प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अब दुुईतिरबाट नै खड्गवानीकोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए । खड्ग भवानीकोत परिसरबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।

खड्ग भवानीकोतस्थललाई राजधानी बनाई विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोतमा राज्य गरेका थिए । यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।

You might also like

Comments are closed.