रमेश कर्प र कजारिया सेरामिक्सबीच संयुक्त टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्झौता

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार कम्पनीले नेपालमा हालकै सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ, जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । औपचारिक सम्झौतामा दुबै समुहका विशिष्ट प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ । नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो ।

सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । कम्पनी सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफु निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिनेछ ।

सम्झौता कार्यक्रममा कजारिया सेरामिक्स लिमिटेडका प्रबन्ध निर्देशक अशोक कजारियाले भने, “नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मकरुपमा उपलब्ध गराउन चाहन्छौँ । हामी विश्वस्त छौँ की यो सुविधा सम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुना उद्योग बन्नेछ, जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ ।”

त्यस्तै, कार्यक्रममा बोल्दै रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले भने, “यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पुर्‍याउनेछ । यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ ।”

You might also like

Comments are closed.