कालिका यामाहा कोष र एमएडब्ल्यु फाउण्डेशनद्वारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

चितवन । कालिका यामाहा कोष र एमएडब्ल्यु फाउण्डेशनले विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ । बढ्दो जाडोलाई मध्यनजर गर्दै कालिका नगरपालिका –१०, सिद्धि स्थित चेपाङ बालबालिका रहेको सिद्धि छात्रावासमा ११ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई शनिबार न्यानो कपडा र स्टेशनरी वितरण गरिएको हो ।

एमएडव्लु फाउण्डेशन र खैरहनी –८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टस मातहत रहेको कालिका यामाहा कोषले सिद्धिस्थित अध्ययनरत ४३ जना विद्यार्थीहरुलाई सहयोग वितरण गरेको हो । बढ्दो जाडोको समयमा यहाँका विद्यार्थीहरु न्यानो कपडाबाट बञ्चित थिए । त्यहाँका विद्यार्थीहरुको समस्या थाहा पाएपछि कालिका मोटरसाईकल पार्टस र एमएडव्लु फाउण्डेशनले विद्यार्थीका लागि न्यानो टोपी, सुरूवाल तथा कापी, कलम, पेन्सिल वितरण गरेको हो ।

कालिका मोटरसाईकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख आतिथि रहेका थिए । अधिकारीले आगामी दिनहरूमा पनि शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्ने र शिक्षा क्षेत्रबाट कोही बञ्चित रहेका गरिब जेहेन्दार बालबालिका भए कालिका यामाहा कोषबाट अभिभावकत्व ग्रहण गरी कक्षा १२ सम्म अध्ययन गराउने पनि जानकारी दिए ।

हरेक मोटरसाइकल स्कुटरको बिक्रीबाट ५ सय छट्याई हालसम्म कोषमा २४ लाख पचास हजार भन्दा बढि रकम संकलन भएको पनि बताए ।
सहयोग वितरणका लागि समाजसेवी मुरलीप्रसाद गजुरेल, कालिका मोटरसाईकल पार्टस टाँडी शाखा प्रमुख रामचन्द्र कोईराला, उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, व्यवस्थापक सुजाता खनाल, सञ्चार उद्यमी ग्रेट एफएमका सञ्चालक प्रमुख अनिल कुँवरसहित पत्रकारको टोली सिद्धि पुगेको थियो ।

कार्यक्रममा सिद्धि छात्रावास प्रमुख भरत चेपाङले स्वागत मन्तव्य राख्दै स्थापनाकालदेखि हालसम्म पठनपाठन गराउँदा आएका समस्या अन्य गतिविधिलाई प्रकाश पार्दै आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

You might also like

Comments are closed.