सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कमलराज शाह नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलराज शाह नियुक्त भएका छन् । सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि आजै मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

शाहले नियुक्त पत्र बुझेको कांग्रेस सांसद् मेघराज खड्काले बताए। संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन्।

कांग्रेसलाई सरकार गठनका लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ। तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ।

You might also like

Comments are closed.