जसले २५ हजार महिलालाई हस्तकलाको सिप सिकाइन्

कमला सुवेदी सन् २०११ सम्म सिलाई व्यवसायमा आबद्ध थिइन् । सन् २०११ मा बंगलादेश घुम्न गएपछि उनको व्यावसायिक क्षेत्र फेरियो । बंगलादेशमा घुम्ने क्रममा बजारमा उनले क्रिष्टलबाट बनेका हस्तकलाका सामानहरु प्रशस्त देखिन् । जुन सामानहरुले पर्यटकलाई आकर्षित गरिरहेका थिए । नयाँ कुरा देख्ने वित्तिकै त्यसप्रति चासो राख्ने सुवेदीलाई बंगलादेशको यात्रालाई घुम्नमा मात्रै सीमित राख्न पटक्कै मन लागेन । उनले त्यही भ्रमणकै क्रममा क्रिष्टलबाट हस्तकलाका सामान बनाउने ज्ञान सिकिन् र नेपाल फर्किन् । त्यसपछि सुरु भयो सृजनशील क्रिष्टल हस्तकला उद्योगबाट उनको नयाँ व्यावसायिक यात्रा ।

सन् २०११ मा क्रिष्टलबाट हस्तकलाका सामान बनाउने व्यवसाय शुरु गरेदेखि सुवेदी कहिल्यै पछाडि फर्कनु परेन । सधैं सफल रहिन् र सफल महिला उद्यमीको पहिचान बनाइन् । व्यवसायमा आफूलाई मात्रै सीमित राखिनन् उनले । आफूजस्तै धेरै महिला उद्यमी उत्पादन गर्ने हुटहुटी जाग्यो । त्यही हुटहुटीका बीच उनले क्रिष्टलबाट हस्तकलाका सामान बनाउने तालिमको पनि सुरुवात गरिन् ।

युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर उनले ५० जना महिलालाई क्रिष्टलबाट हस्तकलाका सामान बनाउन सिकाइन् । उनको यो सिकाउने क्रम आजसम्म पनि जारी छ । राजधानी काठमाडौं मात्रै होइन सिप सिकाउन उनी देश, विदेश पुगिसकेकी छन् । ‘धेरै ठाउँबाट तालिमको माग आउँछ,’ उनी भन्छिन् । उनले हालसम्म २५ हजार जनालाई तालिम दिइसकेकी छन् । तालिम लिएकाहरु मध्ये धेरैले व्यवसाय गरेको देख्दा सुवेदीलाई निकै खुसी लाग्छ ।

‘सिप सिकेका महिलाले कच्चा पदार्थ लगेर विभिन्न सामान उत्पादन गरी आफ्नो ठाउँमा भएको माग पुरा गर्दै आएका छन्,’ उनी भन्छिन् । सुवेदीले विशेष गरी महिलाले श्रृंगारको लागि प्रयोग गर्ने सामान उत्पादन गर्न सिकाउँदै आइरहेकी छन् । क्रिष्टलबाट चुरा, टप, औठी, हार, पर्स, माला लगायतका सामानहरु उत्पादन गर्छिन् र सिकाउँछिन् ।

क्रिष्टलबाट बनेका श्रृंगारका सामान आकर्षकसमेत हुन्छन् । ‘महंगा गहना लगाउँदा धेरै महिलाले असुरक्षित महसुस गर्ने गरेका छन्,’ उनले भनिन्, ‘क्रिष्टलबाट उत्पादित सामान सस्तो हुन्छ र लगाउने महिलाले पनि सुरक्षित महसुस गर्छन् ।’ सुनका गरगहना लगाउँदा असुरक्षित हुने, चोरी हुने तथा हराउने डर भएकाले यस्ता सामानको प्रयोग तथा माग बढिरहेको सुवेदीको अनुभव छ । ‘विभिन्न समारोह तथा पार्टीमा महिलाले क्रिष्टल, पोते तथा मोतीबाट बनेका सामानको प्रयोग गर्न थालेसँगै हस्तकलाका सामानको माग बढ्दो छ,’ उनले भनिन्, ‘जुनसुकै आर्थिक अवस्था भएका महिलाले पनि यी सामान प्रयोग गर्न सक्छन् ।’

jutta mela

सिप सिकेका महिलाले घरको काम सकेर सामानहरु बनाउन सक्छन् । अन्य व्यापार व्यवसाय गरेका तथा जागिर खाने महिलाले पनि फुर्सदको समयमा यो व्यवसाय गर्न सक्ने सुवेदी बताउँछिन् । ‘खाना पकाउँदा पकाउँदै पनि क्रिष्टलको एउटा माला तयार गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘काम गर्न सजिलो छ । मात्र इच्छाशक्ति चाहिन्छ ।’ महिला दिदी बहिनीलाई आत्मर्भिर बनाउन तथा आर्थिक रुपमा सफल बनाउन यो सिप सहयोगी भएको सुवेदी बताउँछिन् । ‘बजार राम्रो भएकाले सामान उत्पादन गरिसकेपछि बिक्रीको समस्या छैन,’ उनले भनिन्, ‘देश तथा विदेशमा यस्ता सामान धेरै लोकप्रीय छन् । नेपाल आउने पर्यटकले पनि चिनोका रुपमा यस्ता सामान लैजान्छन् ।’

देशभर नै यो व्यवसायको भविष्य राम्रो रहेको सुवेदी बताउँछिन् । ‘म तालिम दिन नेपालका विभिन्न स्थानमा पुगेको छु,’ उनले भनिन् । उनको सिकाउने क्रम नेपालमा मात्र सीमित छैन । विदेशसम्म पुगेर उनले आफ्नो ज्ञान बाँडेकी छन् । ‘म जहाँ जहाँ पुगेको छु त्यहाँका महिलाहरुले उत्साही भएर सिप सिकेको पाएको छु,’ उनी भन्छिन्, ‘सिप सिकेका प्राय महिलाले आफ्नो सिपलाई आयआर्जनको माध्यम बनाउन सफल भएका छन् ।’ सुवेदी विभिन्न एक्स्पो तथा मेलामा सहभागी भएर ज्ञान सिकाउने तथा उत्पादित सामानहरु प्रदर्शन गर्ने गरिरहेकी छन् । व्यवसाय तथा महिला उद्यमका क्षेत्रमा योगदान पु¥याउन पाउँदा गौरव महसुस हुने उनले बताइन् । उद्यमशीलताको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै नेपाल सरकारबाट प्रदान गरिने उत्कृष्ट उद्यमी पुरस्कारबाट समेत उनी सम्मानित भइसकेकी छन् । ‘सम्मानहरुले व्यवसाय गर्न र सिप सिकाउन थप ऊर्जा तथा प्रेरणा मिलिरहेको छ,’ उनी भन्छिन् ।

नेपालमा महिला उद्यमशीलताको अवस्था कस्तो छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘अझैपनि नेपाली महिला पछि परेको अवस्था छ । पहिला भन्दा अहिले अवस्था केही फरक छ । महिलाहरु उद्यमशील बन्ने क्रम बढेको छ । उद्यमशील बन्न चासो दिने तथा आफ्नो सिपको प्रयोग गर्न महिला अग्रसर हुने गरेको मैले पाएको छु । नेपालमा अर्थतन्त्र मजबुत बनाउन पनि महिला उद्यमशीलता बढाउनु आवश्यक छ । यसतर्फ सरकारको पनि ध्यान जानु जरुरी छ । उद्यमशील बन्न चाहने महिलालाई सरकारले सहयोग गर्नुपर्छ ।’

सुवेदी आफ्नो व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । समय व्यवस्थापन गरेर सामाजिक क्षेत्रमा सक्रिय हुन उनलाई निकै मन पर्छ । उनी यतिबेला बागमती हस्तकला संघको उपाध्यक्षको जिम्मेवारीमा पनि छन् । ‘सकेसम्म धेरैलाई सिप सिकाउने तथा सामाजिक क्षेत्रमा सक्रिय हुने मेरो तिब्र इच्छा छ,’ उनी भन्छिन्, ‘मेरो जीवनको आगामी यात्रा पनि यसैमा सक्रिय रहनेछ ।’

संघमार्फत आफूसँग भएको सीपलाई प्रयोग गरी एक घर एक उद्यमी उत्पादन गर्ने लक्ष्य रहेको सुवेदी बताउँछिन् । ‘जिल्ला जिल्लाका उद्योगी तथा उद्यमीलाई समेटेर काम गरी उद्योग क्षेत्रलाई पर्यटनको रुपमा विस्तार गर्ने योजना छ,’ उनले भनिन्, ‘उद्यमी व्यवसायीलाई सहयोग गरी सरकारसँग सहकार्य गरी अगाडि बढ्नेछौं ।’

You might also like

Comments are closed.