कमलपोखरीमा २ करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा २ करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा २ करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौँ, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौँ, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।”

पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उहाँले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने बताए ।

वडा नं १ मा पुनःनिर्माण भइरहेको कमलपोखरीमा करिब रु छ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुङ्गा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिङ्गटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिने योजना छ ।

You might also like

Comments are closed.