lcci festival

‘नाडा अटो शो’ अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव हो

करण कुमार चौधरी, अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वर्षेनी अटो शो आयोजना गर्दै आइरहेको छ । यस पटक १७औं संस्करणको ‘नाडा अटो शो’ भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डप काडमाडौंमा हुँदैछ । नाडाले यस पटकको अटो शो पृथक र ऐतिहासिक हुने दावी गरिरहेको छ । यसै सन्दर्भमा नाडाका अध्यक्ष करण कुमार चौधरीसँग गरिएको संक्षिप्त कुराकानीः

नाडा अटो शोको तयारी कस्तो छ ?

नाडा अटो शोको तयारी पूर्ण उत्साह र प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ । यस वर्ष हामी अघिल्ला सबै संस्करणहरूभन्दा अझ भव्य, व्यवस्थित र दर्शकमैत्री शो प्रस्तुत गर्ने लक्ष्यसहित अघि बढेका छौँ । ग्राहकको चासो र सहभागिता अझ बढाउने उद्देश्यले नाडा आयोजक समिति, इभेन्ट पार्टनरहरू तथा सम्बन्धित सबै निकायहरू एक जुट भई योजनाबद्ध रूपमा तयारीमा जुटिरहेका छन् । यो वर्ष सय भन्दा बढी स्टल रहने अपेक्षा गरिएको छ, जसमा अटोमोबाइल ब्रान्डहरू, स्पेयर पाट्र्स, लुब्रिकेन्ट्स, एक्सेसोरिज, फाइनान्स, इन्स्योरेन्सलगायतका विभिन्न क्षेत्रका प्रतिनिधित्व रहनेछ । शोको विस्तृत विवरण, सहभागिहरूको नामावली र विशेष आकर्षणहरूका बारेमा जानकारी आगामी श्रावण २० गते आयोजना हुने औपचारिक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।

यस पटकको शोमा विशेष आकर्षण के-के छन् ?

नाडा अटो शो नेपाली अटोमोबाइल क्षेत्रका ग्राहकका लागि मात्र एक प्रदर्शनी होइन-यो त्यो विशेष अवसर हो जहाँ एकै स्थानमा थुप्रै ब्रान्ड, नयाँ विकल्पहरू, आकर्षक अफरहरू मात्र होइन, नेपाली अटो बजारको वर्तमान स्थिति र भविष्यको दिशा दुवै देख्न पाइन्छ । यस पटकको संस्करण अझ विशेष, अझ ऐतिहासिक बन्न गइरहेको छ-जहाँ ग्राहकले अटोमोबाइल क्षेत्रको गौरवपूर्ण यात्रा (legacy) र भविष्यलाई बदल्ने प्रविधि तथा इनोभेसनलाई एउटै छानामुनि प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । पेट्रोलदेखि इलेक्ट्रिक, परम्परादेखि स्मार्ट कनेक्टिभिटीसम्मको समग्र यात्राको प्रतिबिम्ब प्रस्तुत गर्ने यो शो, अटो क्षेत्रको नयाँ युगमा प्रवेश गर्ने एक ऐतिहासिक मोड हुनेछ । यो अनुभव नाडा अटो शोको इतिहासमै पहिलोपटक यति व्यापक, प्रभावशाली र अविस्मरणीय बन्नेछ ।

यस पटकको नाडा अटो शोले बिगतको शो भन्दा फरक पनको झझल्को दिन सक्ला ?

यो पालिको अटो शो साँच्चिकै रोमाञ्चक र विशेष हुनेछ । नेपालमै पहिलो पटक देखिने नयाँ आकर्षणहरूले यसलाई अझ अविस्मरणीय बनाउनेछन् । नेपाली ग्राहकले पहिलोपटक लिगेसी (Legacy) र फ्युचर (Future) को अद्भुत संयोजनलाई एउटै स्थानमा प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् ।

नाडा अटो शोमा राम्रो अफर पाइन्छ भन्ने छ । अफरको तयारी कस्तो छ ?

यो अटो शोको अर्को महत्वपूर्ण पाटो हो-विशेष अफरहरू । नाडामा उपलब्ध हुने अफरहरू त्यस्ता हुन्छन्, जुन वर्षभरि कहिल्यै नपाइने खालका हुन्छन् । हरेक ब्रान्ड र प्रदर्शनकर्ताले ग्राहकको ध्यान तान्नका लागि विशेष छुट, एक्स्चेन्ज योजना, फाइनान्सिङ सुविधादेखि लिएर आकर्षक गिफ्टहरूसम्मका अफरहरू प्रस्तुत गर्छन् । यसपालि पनि ती अफरहरू झनै आकर्षक र प्रतिस्पर्धात्मक हुनेछन् । नाडा अटो शो एकदमै उपयुक्त स्थान हो, जहाँ तपाईंले चाहनुभएको सवारी मात्र होइन, उत्कृष्ट डिल र विशेष सुविधा पनि सँगसँगै पाउनुहुनेछ । यो अवसरले ग्राहकलाई आर्थिक रूपमा फाइदाजनक मात्र होइन, सहि निर्णय गर्न पनि सहयोग पुर्याउनेछ ।

नयाँ गाडीहरू कत्तिको देख्न पाइन्छ ?

अवश्य, यसपालिको अटो शोमा हेर्न लायक धेरै कुरा हुनेछन् । विभिन्न ब्रान्डहरूले विशेष रूपमा यो शो लक्षित गर्दै नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अहिले सबै विवरण खुलाउन सम्भव छैन, तर सही समयमा ती रोमाञ्चक खुलासा हुनेछ र त्यो क्षण पर्खनलायक नै हुनेछ ।

नाडा अटो शो नजिएसँगै कम्पनीहरू कत्तिको उत्साही छन् ?

नाडा अटो शो अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव हो । एक यस्तो प्लेटफर्म जहाँ यति धेरै सम्भावित ग्राहकलाई एउटै ठाउँमा भेट्ने मौका वर्षभरि कहिल्यै पाइँदैन । त्यही भएर सबै ब्रान्डहरू यो अवसरलाई अधिकतम उपयोग गर्न पूर्ण प्रतिबद्धताका साथ प्रस्तुत छन् । नाडा अटो शोले कुनै पनि ब्रान्डको वर्षभरिको बजार रणनीतिमा टोन सेटिङ (Tone-setting) भूमिका खेल्दछ । यही कारणले गर्दा सबै ब्रान्डहरू यसपटक झनै उत्साहित, तयार र प्रतिस्पर्धात्मक छन् ।

अन्त्यमा के भन्नहुन्छ ?

यो वर्षको नाडा अटो शो २०८२ इतिहासकै सबैभन्दा विशेष, जीवित र फरक संस्करण हुनेछ । यो केवल प्रदर्शनी होइन, नेपालकै अटोमोबाइल यात्राको गौरवशाली अतीत र भविष्यको सम्भावनाबीचको जीवित संगम हो । यसपटकको शो अघिल्ला संस्करणहरू भन्दा सबै हिसाबले अद्वितीय हुनेछ-रूप, उद्देश्य र प्रभावमा । अटो उद्योगको समृद्ध लेगेसी र नवीनतम प्रविधिको यस्तो संयोजन प्रस्तुत गरिनेछ, जुन नेपाली बजारमा अहिलेसम्म देखिएको छैन । विभिन्न ब्रान्डहरूबाट प्रस्तुत गरिने विश्वस्तरीय नयाँ मोडेलहरू, ट्रेन्डसेटिङ टेक्नोलोजीहरू र डिजाइनका नवीनतम आयामहरूले ग्राहक, प्रविधिप्रेमीहरू र मोबिलिटी इनोभेटरहरूलाई उत्साहित गर्नेछन् । म सम्पूर्ण ग्राहक वर्गलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु-डा अटो शो २०८२ तपाईंका लागि केवल सवारीसाधनको प्रदर्शनी होइन, भविष्यको गन्तव्य अनुभूत गराउने अविस्मरणीय अनुभव हुनेछ ।

साथै, म सरकार, नीति निर्माता, व्यावसायिक साझेदारहरू र सरोकारवालाहरूलाई गम्भीर आग्रह गर्न चाहन्छु-नेपालमा अटोमोबाइल अब विलासिता होइन, आवश्यकता हो । यो राष्ट्रको रोजगारी, राजस्व, वित्तीय प्रवाह र पूर्वाधार विकाससँग जोडिएको मेरुदण्ड हो । त्यसैले, अटोमोबाइल क्षेत्रको दिगो भविष्य सुनिश्चित गर्न अब स्पष्ट, स्थिर र दीर्घकालीन नीतिगत प्रतिवद्धता अपरिहार्य छ । नाडा अटो शो २०८२ एउटा प्रदर्शनी मात्र होइन-यो एक ट्रान्सफर्मेसनल मोमेन्ट हो, जहाँ नेपालको अटोमोबाइल भविष्यको नयाँ अध्याय सुरु हुँदैछ ।

You might also like

Comments are closed.