कार्की दम्पतीलाई छोएन चुनावले

काठमाडौं । बर्दिया ठाकुरद्वार-९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहेका छन्। उनलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै छिन् ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पत्ती बेखबर नभए पनि मतदानको अवसर पाएका छैनन्। बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै छन् उनिहरु मुलुक चलाउने सिंहदरबार नजिकै। “भरपेट खाएर आनन्दको निद्रा सुत्नु छ”, कार्की दम्पत्तीले एकै स्वरमा सुनाए।

निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रममा व्यस्त छन्। उनिहरुलाई हामीले सोध्यौँ, “भोट हाल्न किन नजाउनुभएको ?”

“मतदाता नामावली गाउँतिरै छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेन् । कसैले खबर गरेको भए जाने थियौँ ।” बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आएका छन्। भोट हाल्न गाउँ नगइ राजधानीमा संघर्षरत कार्की दम्पतीले दैनिक रु एक हजार आठ सयदेखि रु दुई हजारसम्म आम्दानी गर्छन्।

“छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्”, कार्कीले भने, “हामी बुढाबुढीलाई पेट पाल्न मजदुरी गर्नुपरेको छ।” कार्कीलाई यसपटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन। तर मेसो नमिलेको उनको भनाइ छ ।

कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ। मुलुकभर मतदान चलिरहेका बेला धामी भने काठमाडौंको रामशाह पथमा पिठ्यूँमा गह्रौ झोला बोकेर हिँडिरहेकी छन् । उनलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो। तर आफ्नै समस्याका कारण गाउँ जान सकिनन्। “पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिन, घर जान धेरै पैसा लाग्छ,” उनले भनिन्, “कसैले जाउँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।”

jutta mela

धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्दै आएकी छन् । चुनावका दिन गाडी नचल्ने भएपछि धामी ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाइन्। “आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्योहोला”, उनले भनिन्, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”

धामी जस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैलदै हिँडिरहेका छन् । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आएका रहेछन्। भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गरेकी उनिहरु बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताउछन् ।

निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन विहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ। सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन्। यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरुलाई पनि गणना गरेको छ। केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट बञ्चित भएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामति कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका बृद्धाआश्रमलाई समेटेको भएपनि पेशा व्यवसाय गरेका सर्वसाधारणलाई समेटन सकेको छैन्।

अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रुपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ । तर, हाम्रोमा निर्वाचन कानुनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ । रासस

You might also like

Comments are closed.