काठमाडौं । करुणा फाउण्डेशन नेपालले विविध कार्यक्रम गरि सातौँ वार्षिक उत्सव मनाएको छ । फाउण्डेशनले काठमाडौंमा रहेको कार्यालय परिसर वरिपरी सरसफाइ र प्लेकार्ड प्रदर्शनी गरेको छ । वार्षिक उत्सवकै अवसरमा फाउण्डेशनले ५ जना कर्मचारीलाई दीर्घसेवा पदक वितरण गरेको छ ।
फाउण्डेशनले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ६ मा रहेको श्री नागेश्वरी मा.वि. मा अध्ययतरत बौद्धिक अपांगता भएका १० जना बालबालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । उक्त कार्यक्रममा नगरप्रमुख धु्रवराज राय, उपप्रमुख मन्जु अधिकारी ढुंगेल, करूणाका सुदशर्न ढकाल, विद्यालयका प्र.अ. राजेन्द्र भण्डारी, शिक्षा शाखा प्रमुख रमेश दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको फोकलपर्सन गीतादेवी लुइँटेल रहेकी थिइन् ।
त्यस्तै, भोजपुर नगरपालिकाको टक्सारमा रहेको यशोधरा मा.वि. को विशेष स्रोत कक्षामा अध्ययनरत बौद्धिक तथा अपांगता भएका १२ जना बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । कार्यक्रममा एनएफडीएका प्रदेश १ का अध्यक्ष नवीन ढुंगेल, करुणा फाउण्डेशनका सन्तोष घिमिरे र जनार्दन सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, संखुवासभाको महेन्द्र मा.वि. सुनाइसम्बन्धी समस्या भएका १० जना विद्यार्थीहरुलाई खाद्यान्न तथा कपडा वितरण गरिएको छ । तेजरत्न आँखा अस्पतालसँगको समन्वयमा सुनाइसम्बन्धी परीक्षण शिविर सञ्चालन गरिएको छ । कार्यक्रममा करूणा जिल्ला संयोजक संयोग खतिवडालगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, युनाइटेड वल्ड स्कूलमा अपांगता भएका १४ जना विद्यार्थीलाई झोला तथा खाद्यान्न सामग्री वितरण गरिएको छ । कार्यक्रममा डिसीसी प्रमुख सुमन शाक्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, विराटनगरको विराट वहिरा मा.वि.मा नाक, कान, घाँटी जाँच शिविर सम्पन्न भएको छ । शिविरबाट ६५ जनाले सेवा लिएका छन् । शिविरमा १० जनाको श्रवण यन्त्र परीक्षण, १४ जनालाई औषधी वितरण, ६ जनालाई बोलाइसम्बन्धी थेरापी तथा १ जनालाई सर्जरीका लागि रिफर गरिएको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका सामुदायिक शाखा प्रमुख पुनम दाहाल, करूणा जिल्ला संयोजक श्याम किशोर साह, राजश्व महाशाखाका सरोज गौतम, जनस्वास्थ्य निरिक्षक दिलिप यादवलगायतको सहभागीता रहेको थियो ।
त्यस्तै, कविर मा.वि. बेलबारीमा १० जना दृष्टिविहिनलाई सेतो छडी वितरण र यसको प्रयोगसम्बन्धी तालिम दिइएको छ । कार्यक्रममा करूणा जिल्ला संयोजक भारती देबलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, पाँचथरको तुम्वेवा गाउँपालिकामा अपांगता समावेसी विकास र समावेसी शिक्षा विषयमा मावि स्तरिय निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा करूणा जिल्ला संयोजक केदार भण्डारीलगातको सहभागिता रहेको थियो ।
सन् २००७ मा आइएनजीओको रुपमा स्थापना भएको फाउण्डेशन २०१५ बाट एनजीओको रुपमा नेपालमा सुरु भएको हो । फाउण्डेशनले अपांगता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय तथा स्थानीय निकायसंगको सहकार्यमा सात जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको फाउण्डेशनका वित्त तथा प्रशासन प्रमुख दिनेश ढकालले जानकारी दिए ।
Comments are closed.