काठमाण्डौं । काठमाडौं महानगरपालिकाले संशोधन बजेट पारित गरेको छ । शुक्रबार बसेको नगरसभाको १२औँ अधिवेशन दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको हो ।
कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख सुनिता डङ्गोलले संशोधन बजेट प्रस्ताव पेश गरेकी थिइन् । गत ११औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये चार अर्ब ३६ करोड ७१ लख सात हजार बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो ।
प्रस्ताव गरिएका संशोधन बजेटमध्ये छलफलबाट करिब तीन अर्ब मात्र पारित भएको हो । आजको बैठकमा विभिन्न ६ कार्य सूची रहेको थियो । शुक्रबार भएको दोस्रो बैठकबाट सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएको छ ।
त्यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पनि पारित भएको छ। सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ। यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ।
यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखा र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । कानुन तथा मानवअधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभागअन्तर्गत लगिएको छ।
Comments are closed.