काठमाडौं । नेपालका लागि कोरियन दुताबासले भिसा प्रक्रिया खुल्ला गर्ने निर्णयलाई कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले स्वागत गरेको छ। कोरियन दुताबासको निर्णय स्वागतयोग्य रहेको केक्यानका अध्यक्ष गणेश शर्माले बताए । २०२१ अप्रिल १ देखि भिसाका लागि आवेदन दिन सकिने दुताबासले जनाएको छ ।
दुताबास खुल्ला गर्न र भिसा प्रक्रिया सुचारु गर्नका लागि संघले कोरियन दुताबास र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन बुझाउँदै आह्वान गरेको थियो । ‘विद्यार्थीहरुमा अन्योलको स्थिति थियो,’ अध्यक्ष शर्माले भने, ‘दुताबासको यो निर्णयले विद्यार्थी तथा अभिभावकमा भएको अन्योलता हटेको छ ।’ विद्यार्थीहरु अध्ययनका लागि छिट्टै कोरिया जानसक्ने उनले बताए ।
लामो समयको लागि (६ महिना भन्दा बढी) कोरिया जान लागेकाहरुका लागि भिसा प्रक्रिया खुल्ला गरिएको दुताबासले जनाएको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लामो समयदेखि भिसा आवेदन बन्द थियो ।
बैबाहिक भिसा (कोरियन नागरिकको श्रीमान तथा श्रीमती) र अध्ययन भिसा जारी गर्ने दुताबासले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई दुताबासको यो निर्णयले सहज भएको छ । उनीहरुले अब कोरिया जानका लागि आवेदन दिनसक्नेछन् ।
Comments are closed.