बैंकिङ समस्याका कारण निजी क्षेत्रले धेरै दुःख पाइरहेको गुनासो

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंक तथा वित्तीय समस्या र समाधानका विषयमा बृहद अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार संघले उद्योगी व्यवसायीहरुसहित सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय बैंकिङ समस्याकाकारण निजी क्षेत्रले धेरै दुःख पाइरहेको गुनासो गरे । प्रतिकुल समयमा पनि बैंकले नाफा कमाउन ब्याज बढाइरहनुले आफूहरु अप्ठ्यारो परिस्थितिमा परेको उनीहरुको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । ‘बैंक तथा वित्तीय समस्या र समाधान’ विषयमा उनले कार्यत्रप प्रस्तुत गरेका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रको समस्या, बैंकहरुमा लगानी योग्य पूँजीको अभाव, विदेशी बिनिमय सञ्चितिमा ह्रास, बैंकहरुको उच्च नाफाका लागि आक्रमक लगानी, ब्याज दर बढाउदै निक्षेप संकलन गरेर त्यसमा थप प्रिमियम जोडी ऋणि माथि बोझ, बैंकहरु आफै ब्याज बढी दिने अनी आधार दर बढेको निहुँमा कर्जाको ब्याज दर र कर्जामा मार्जिन दर समेतमा बृद्धि, केन्द्रीय बैंकको ब्याज वृद्धि नीति, चालू पूँजीकर्जामा नयाँ निर्देशन, ऋण प्रवाहमा अनुगमन रोजगारीका लागि जाने संख्या बढ्नु तर बिदेशबाट बिप्रेशण आम्दानी स्थिर हुनु, आयातमा नियन्त्रण, मार्जिन ब्याज वृद्धि, बाह्य कारणले बिनिमय दर वृद्धिबाट समेत आयात कम नहुनु ब्याज वृद्धिले उत्पादन लागत वृद्धि, प्रतिस्पर्धि क्षमतामा ह्रास लगायतका विषयमा उक्त अवसरमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकले नाफा मात्रै कमाउने सोच राख्न नहुने बताए । ‘बैंकले पनि नाफा कमाउनुपर्छ भन्नेमा दुईमत छैन । तर प्रतिकुल अवस्थामा पनि सधैं नाफामात्रै कमाउने सोच राख्नु भएन,’ उनले भने । प्रतिकुल परिस्थितिको कामना व्यवसायीहरुले मात्रै गर्नुपर्ने अवस्था आइरहेको बताउदै उनले सबै मिलेर प्रतिकुल अवस्थाको सामना गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रबैंकका निर्देशक ईश्वरी भट्टराई, बैंकर संघका अध्यक्ष अनिल उपाध्याय लगायतले उक्त अवसरमा बोलेका थिए । काठमाडौं र अन्य जिल्ला, नगर र वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि एवं उद्योगी व्यवसायीहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.