काठमाडौं । हाल देशभरका केही भन्सार कार्यालयमा प्राविधिक समस्या, सेवा प्रवाहमा ढिलाइ र डिजिटल प्रणालीको अस्थिरताका कारण भन्सारको दैनिक कामकाज प्रभावित भएको छ । यस विषयमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्नो ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेको छ ।
संघका अनुसार निरन्तर देखिँदै आएका यी समस्याले आयात-निर्यात प्रक्रियामा अनावश्यक जटिलता सिर्जना गरेको, व्यवसायीहरूको समय लागत बढाएको र समग्र व्यापारिक वातावरण अस्थिर बनाएको छ। संघले सदैव व्यवसायिक सुरक्षाको सुनिश्चितता, सरल र पारदर्शी भन्सार प्रक्रिया, डिजिटल प्रणालीको भरपर्दोपन र सरकारी सेवा प्रवाहको द्रुत सुधारको पक्षमा रहेको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य संघले भन्सारबाट संन्दर्भ पुस्तिका हटाउने निर्णय र प्रविधिको प्रयोग गरी उद्योगी तथा व्यापारीलाई सहज सेवा दिन गरिएको प्रयासको प्रशंसा गर्दै सम्बन्धित निकायहरूको अझै ध्यानाकर्षण हुनुपर्ने बताएको छ। साथै, सानो गल्तीलाई आधार बनाएर अत्यधिक जरिवाना लगाउने र भन्सार प्रक्रियामा ढिलाइ गरिने कार्यमा तत्काल सुधार गर्न संघले अनुरोध गरेको छ ।
संघको विज्ञप्तिमा भनिएको छ कि विवरणगत गल्तीका कारण सरकारको राजश्वमा कमी हुनेगरी आयातकर्ता वा एजेन्ट उल्लेख गर्ने कार्य बाहेक अन्य व्यवहारिक गल्तीको विवरण सरकार स्वयंबाट संच्याउन लगाइ व्यवसाय सहजीकरणमा भन्सारका सबै अंगको सहयोगको अपेक्षा रहेको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले व्यापारिक समुदायको समस्यालाई सशक्त रूपमा उजागर गर्न र प्रभावकारी समाधान खोज्न मंसिर २३ गते नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले आयोजना गरेको ‘Pen Down Programme’ प्रति पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गर्दै सबै सम्बन्धित निकायहरूलाई तत्काल प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ।





Comments are closed.