‘खल्ती बाइ आइएमई’ को अध्यक्षमा शर्मा र सिईओमा खड्का

काठमाडौं । आइएमई पे र खल्ती वालेट एकीकरण (मर्ज) भएर बनेको ‘खल्ती बाइ आइएमई’ ले नयाँ कारोबार सुरु गरेको छ । आजबाट यी दुई कम्पनीले एकीकृत कारोबार सुरु गरी सेवा थालनी भएको छ ।

एकीकरण पश्चात् बनेको नयाँ कम्पनी ‘खल्ती बाइ आइएमई’ को अध्यक्षमा कृष्णप्रसाद शर्मा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी विनय खड्काले सम्हालेका छन् । शर्मा आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष हुन् । उनले आइएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आइएमई खल्तीले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने बताए । खड्का खल्तीको पनि सीईओ नै थिए ।

शर्माको अध्यक्षतामा ७ सदस्यीय नयाँ कम्पनीको सञ्चालक समिति चयन भएको छ । सञ्चालक समिति सदस्यमा दिवाकर पौडेल, सिताराम थापा, प्रविन रेग्मी, अमित अग्रवाल, अर्बिन्द शाह र मनिष मोदीलाई चयन गरिएको छ । एकीकरणपछि मुख्य कार्यालय काठमाडौंको पानी पोखरीमा रहनेछ । नयाँ कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हस्तान्तरण गरेका हुन् ।

एकीकरण पश्चात् कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा वल्र्ड लिंक, त्रिवेणी ग्रुपको लगानी छ । आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले वि.सं २०७६ वैशाख २ गते पाएको हो ।

आइएमई पे र खल्ती वालेट एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती)ले एकीकृत कारोबार सुरु गरेको बिहीबार एक कार्यक्रमको आयोजना गरी दुवै कम्पनीले एक भएको घोषणा गरेका हुन् ।

अब दुवै कम्पनी एकीकरण भएपछि खल्ती बाई आइएमईको नामबाट कारोबार सुरु भएको छ । दुई प्रमुख डिजिटल वालेट मर्ज हुने नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.