काठमाडौं । ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।
यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् । क्रिकेटप्रेमी फ्यानको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् ।
केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् । अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानले खेलका टिकटहरू सजिलै लिन सक्ने बताइएको छ ।
पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य रु ३०० साथै भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानले सबै खेलको एकमुस्ट – सिजन पास पनि लिई सक्नेछन्ः साधारणको मूल्य रु ४ हजार ४८० र भिआइपी टिकटको मूल्य रु ८ हजार २४० रहेको छ ।
मङ्सिर १५ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन गइरहेको एनपिएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।
नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेटलाई विश्व सामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानले, ग्राउन्डमै आएर साथ र सपोर्ट गर्ने आशा व्यक्त गरे । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सबैले बिना कुनै झन्झट, सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिन सक्ने बताए ।
Comments are closed.