पोखरा । तालैतालको शहर पोखराका लेखनाथमा यही चैत १२ देखि २२ गतेसम्म ‘लेखनाथ खाष्टेताल जाऔँ प्रकृति र संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ प्रथम खाष्टेताल महोत्सव हुने भएको छ ।
पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको प्रचारप्रसार, संरक्षणसँगै यसको धार्मिक र सांस्कृतिक पक्षको उजागरका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिए । उनले जैविक विविधताको संरक्षण गर्दै ताललाई सुन्दर आकर्षक बनाएर आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यसहित राष्ट्रियस्तरमा चिनाउन महोत्सवले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने बताइएको छ ।
कोभिड–१९ को प्रकोप बढिरहेको सन्दर्भमा सरकारले सभा, सम्मेलन, जमघट गर्न नगराउन भने पनि महोत्सव अन्तिम तयारीमा पुगेकाले स्वास्थ्य सकर्तकतासहित महोत्सव सम्पन्न गरिनु हुने आयोजकको भनाइ छ । खास्टे तथा न्युरेनी ताल किनार खरानेफाँटमा हुने महोत्सव सफल बनाउनका लागि विभिन्न ३२ उपसमिति गठन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा हुने सो महोत्सवले पर्यटकीय सम्पदाको संरक्षणसँगै स्थानीयवासीको जीविकोपार्जनमा पनि भूमिका खेल्दै जाने विश्वास लिएको पर्यटन बोर्डका गण्डकीका प्रमुख काशीराज भण्डारीले जानकारी दिए । परापूर्वकालमा भृगुमुनिले तपस्या गरी ‘जेष्ठी तालबाराही मन्दिर’ प्रतिस्थापन गरेर ‘ऋषि डाँडा’ बस्ती बसालेको ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै यस क्षेत्रको धार्मिक एवम् सांस्कृतिक पक्षहरु महोत्सवबाट उजागार हुने विश्वास उनले व्यक्त गरे ।
आयोजकका अनुसार महोत्सव आयोजना गर्न ९७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा स्थानीय उत्पादनलगायत ११० स्टल रहनेछन् । रामसारमा सूचीकृत भइसकेको अवस्थामा ताल किनारमा पाइने जैविक विविधता संरक्षणलाई समेत महोत्सवले सहयोग पु¥याउने आयोजकको भनाइ छ ।
तीनसय रोपनी क्षेत्रफल रहेको खास्टेतालको संरक्षणका लागि तत्कालीन लेखनाथ नगरपालिकाले माटोको ड्याम लगाएर सीमाङ्कन गरी संरक्षणको पहल थालेको थियो । हाल सो स्थानमा स्थानीयवासीले सहकारीमार्फत व्यावसायिक माछापालनसमेत हुँदै आएका छन् । खास्टे र गुँदें तालबाट सहकारीले व्यावसायिक उत्पादन गर्दै आएको हो । तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपियालगायत माछा रहेका छन् ।
Comments are closed.