काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दृष्टीविहिनमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहिनलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयमा वित्तीय साक्षरताबारे जानकारी दिएका छन् ।
कृष्ण खत्री ‘अविरल’ले वित्तीय साक्षरताबारे समयमै जानकारी नपाउँदा आफुले बैंकमार्फत् कारोवार नगरेको, कमाएको वा बचाएको रकम साथीलाई राख्न दिनुपरेको र सो पैसाको जतन हुनेमा आफू पूर्ण विश्वस्त हुन नसकेको बताए । अन्य व्यक्तिले सरह अब बैंकमा खाता खोलेर कारोवार गर्न मिल्ने भएपछि अब देखि आफ्ना वित्तीय कारोवार बैंकमार्फत् मात्र गर्ने उनले बताएका छन् । बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रम पश्चात् आफुलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताए ।
सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहिनलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिलाई जस्तै मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधा प्रदान गरेकोमा धन्यवाद दिइन् । वाग्ले आफू पनि दृष्टीविहिन भएको र अन्य व्यक्तिले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरी सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको जनाइन् ।
यस बैंकले दृष्टीविहिनलाई लक्षित गरेर स्वाभिमान बचत खाता सञ्चालनमा ल्याइरहेको छ । सो खाता खोलेका दृष्टीविहीनले अन्य व्यक्तिले सरह मोबाइल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले खाता खोल्नको लागि दृष्टीविहिन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी शर्तहरु ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ । कार्यक्रममा ४० जना बढि सहभागी रहेका थिए ।
Comments are closed.