काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका–३० लाई कार्यालय सञ्चालनका लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।
जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएपछि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सामग्री सहयोग गरेको हो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सामग्री हस्तान्तरण गरिन् ।
वडाध्यक्ष सुवेदीले आन्दोलनका क्रममा क्षती पुगेका संरचनामा सहयोग गरी कार्यालय सञ्चालन गर्न सहयोग गर्नुभएकोमा बैंकलाई धन्यवाद दिदै अन्य सरोकारवालालाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरे । बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरणसहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
कार्यालय पुर्ण रुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरे ।
बैंकले आन्दोलनका क्रममा क्षतीग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।
Comments are closed.