काठमाडौं । पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट काठमाडौं महानगरपालिकाले पुनः सञ्चालनमा ल्याउने भएको छ । वातावरण विभागका अनुसार कुहिने फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहोरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो ।
फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको महानगरले जनाएको छ ।
उक्त कार्यका लागि महानगरले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको वातावरण विभाग स्रोतले जानकारी दिएको छ । विभागको स्रोतका अनुसार छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको छ । उक्त परियोजनाका लागि युरोपियन युनियनले चार करोड ६० लाख र महानगरले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।
एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहोर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाका साथै १४ किलोवाट बिजुली र १३ हजार पाँच सय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । ०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा ०७४ देखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।
Comments are closed.