विद्यार्थीलाई अनलाइनबाट पढाउँदै कुमुदिनी होम्स, शिक्षकहरुलाई तालिम

पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई पढाइमा सक्रिय गराउन अनलाइन कक्षा सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

अनलाइन कक्षा सञ्चालनका लागि मन्टेश्वरी, पूर्व प्रावि, प्रावि, निमावि र माविका करिब ७० जना शिक्षकहरुलाई तालिम प्रदान गरिने पालिखेले बताए । ‘वैशाख १२ गते शुक्रबारबाट शिक्षकहरुलाई तालिम दिनेछ,’ उनले भने, ‘शिक्षकहरुलाई तालिम पश्चात आगामी सातादेखि अनलाइन कक्षाबाट पठनपाठन सुचारु हुन्छ ।’

अनलाइन कक्षा कसरी सञ्चालन गर्ने, कसरी अनुगमन गर्ने लगायतका विषयमा काठमाडौंका दक्ष प्रशिक्षकबाट शिक्षकहरुलाई तालिम प्रदान गर्न लागिएकोे पाखिलेले जानकारी दिए । ‘लकडाउन लामो समयसम्म लम्बिने सम्भावनालाई मध्यनजर गरी अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘विद्यार्थीले घरमै बसेर सहज रुपमा पढ्न सक्नेछन् ।’

अनलाइन कक्षा लिदै एसईईका विद्यार्थी

कुमुदिनी होम्सबाट एसईई परीक्षा दिने तयारी गरेका कक्षा १० का विद्यार्थीले अनलाइन कक्षाबाट अध्ययन गरिरहेका छन् । लकडाउनका कारण चैतमा हुने भनिएको परीक्षा स्थगित भएपछि अनलाइन कक्षाबाट अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष पालिखेले जानकारी दिए ।

गणित, अतिरिक्त गणित, विज्ञान, सामाजिक शिक्षा, नेपाली, अँग्रेजी, जनसंख्या तथा वातावरण विषयको अध्ययन अनलाइनबाट भइरहेको उनले बताए ।

You might also like

Comments are closed.