जानुका पराजुली अधिकारी
संयोजक
प्रचार–प्रसार उपसमिति
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस १८ देखि माघ १ गतेसम्म २० औं संस्करणको रुपमा लेखनाथ महोत्सव २०८१ हुँदैछ । महोत्सव ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यसवर्ष पनि संघले महोत्सवलाई निरन्तरता दिएको छ । आयोजकले ४८ वटा विभिन्न उपसमिति गठन गरी तयारीको काम गरिरहेको छ । महोत्सवलाई व्यवस्थित बनाउन ९ वटा निर्देशक समिति, १५३ वटा कार्य सम्पादन समितिमार्फत आफ्नो जिम्मेवारी अनुसारको काम भइरहेको छ । महोत्सवका सन्दर्भमा प्रचार–प्रसार उपसमिति संयोजक एवम् लेखनाथ उद्योग वाणिज्य महासंघका महासचिव जानुका पराजुली अधिकारीसंग आर्थिक आवाजले गरेको कुराकानी प्रस्तुत छ :
महोत्सवको प्रचार–प्रसारको काम कस्तो छ ?
महोत्सवको प्रचार–प्रसारको काम व्यापक भइरहेको छ । तीव्र गतिमा प्रचार–प्रसारका लागि विभिन्न ठाउँमा उपसमिति खटिएर काम गरिरहेको छ । महोत्सवको दिन नजिकिदै गर्दा प्रचार–प्रसारको काममा उपसमिति एकदमै तल्लिन भएर लागेका छौँ ।
बिगतका महोत्सवमा भन्दा यस पटक प्रचार–प्रसारको काम नयाँ ढंगबाट गर्नुभएको छ कि बिगतका वर्षमा जस्तै काम भइरहेको छ ?
यो पटक हामीले अलि फरक ढंगले प्रचार–प्रसारको काम गरेका छौँ । सबैका हात हातमा स्मार्ट फोन, घर घरमा इन्टरनेट जोडिएको छ, अहिले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै हुनुुहुन्छ, यस पटक सामाजिक सञ्जालमार्फत पनि प्रचार–प्रसारको काम व्यापक बनाएका छौँ । महोत्सवको जिंगलमा टिकटक बनाउने र त्यसमा लाइक, कमेन्ट र सेयर जसको बढी आउँछ, उसैलाई पुरस्कारको व्यवस्था पनि गरेका छौँ । समयानुकुल भित्रिएको सामाजिक सञ्जाललाई महत्व दिएर अहिले हामीले नयाँ प्रचार–प्रसारको सुरुवात पनि गरेका हौँ । टिकटकको जिम्मेवारी पत्रकार सन्दिप पौडेल र एलिसा केसीलाई जिम्मेवारी दिइएको छ ।
अहिलेसम्म प्रचार–प्रसारमा के के कार्यहरु भएका छन् ?
रेडियो, टिभी, अनलाइन लगायतका विभिन्न सञ्चार माध्यमबाट जिंगल, विज्ञापन प्रसारण भइरहेको छ । पत्रपत्रिकामा सूचना प्रकाशित भइरहेको छ । सञ्चार माध्यमबाट गाउँ, शहर जताततै सूचना प्रवाह भइरहेको छ भने होर्डिङ बोर्ड, डिजिटल बोर्डबाट प्रचार–प्रसार गरिरहेका छौँ । लेखनाथ क्षेत्रबाट छोटो तथा लामो दुरीमा आवतजावत गर्ने गाडी तथा स्थानीय गाडीमा स्टिकर, व्यानर टाँस्ने काम भएको छ भने माइकिङ गरिरहेका छौँ । ठाउँ ठाउँमा प्रचार–प्रसार उपसमितिको टोली पुगेर महोत्सवबारे जानकारी दिने गरिएको छ । यहाँको गतिबिधिलाई सबै दर्शकमाझ जानकारी गराउन बुस्टिङको काम गरेका छौँ ।
अब बाँकी काम के के छन् त ?
पोल व्यानर तयारी भइसकेको छ । भोलीदेखि विभिन्न ठाउँमा पोल व्यानर टास्नेछौँ । पोखरा बजार आसपास, साविक लेखनाथ र महत्वपूर्ण ठाउँमा पोल व्यानर टास्ने काम गर्नेछौँ ।
अन्तमा, महोत्सवका सन्दर्भमा के भन्नुहुन्छ ?
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बिगतका वर्षमा सफलतापूर्वक सम्पन्न भएका छन् । यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिन गइरहेका छौँ । यहाँ हुन लागेको महोत्सवलाई सरोकारवालाको साथ रहेको छ । महोत्सव अवधीभर यहाँ आएर अवलोकन गरिदिनुहुन सम्पूर्ण दर्शकमा अनुरोध गर्दछु । यस महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता, महिलाहरुको क्षमता अभिबृद्धिका लागि हाजिरीजवाफ, रत्यौली कार्यक्रम, दुनाटपरी, चकटी बुन्ने कार्यक्रम, विभिन्न समुदायको मौलिक सांस्कृतिक झल्कने कार्यक्रम, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको रमाईलो साँस्कृतिक प्रस्तुती लगायतका विविध कार्यक्रम रहनेछ । हामीले विद्यालयस्तरिय नृत्य कार्यक्रम र चित्रकला प्रतियोगिता भने सम्पन्न गरिसकेका छौँ । लेखनाथ महोत्सवमा आएपछि केही नयाँ कुरा अवलोकन गर्ने र रमाउने यो सुनौलो अवसर नगुमाउनुहोला ।
Comments are closed.