विनोद श्रेष्ठ
अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथमा मात्रै सात वटा ताल छन् । ‘सात तालको बाटिका शहर’को पहिचान बनाएको लेखनाथका तालहरुले पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको छ । लेखनाथ क्षेत्र, पोखरा र गण्डकी प्रदेशको विकासका लागि यहाँका तालहरुको संरक्षण र प्रवद्र्धन जरुरी छ ।
तीनै तहको सरकारले यहाँका तालहरुको संरक्षणमा विशेष चासो दिन आवश्यक छ । निजी क्षेत्रको तर्फबाट यहाँका तालहरुको विकासका लागि हामीले के गर्नुपर्छ तयार छौं । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न तालमा हुने गतिविधि बढाउनुपर्छ । लेखनाथ आउने पर्यटकलाई यहाँका सातवटै तालहरुको भ्रमण गराउन सक्दा पर्यटकको बसाईं अबधि लम्ब्याउन सकिन्छ ।
यहाँ पर्यटकीय गतिविधि बृद्धि हुँदा सगम्र लेखनाथ क्षेत्रले लाभ लिन सक्छ । यहाँका उत्पादनहरुले बजार पाउँछन् भने लगानीका लागि आकर्षण बढ्छ । लेखनाथ उद्योग वाणिज्य संघले तालहरुको संरक्षणमा बिगतदेखि नै चासो दिइरहेको छ र सरकारलाई समय समयमा सचेत बनाउँदै आइरहेको छ । लेखनाथ महोत्सवमा समेत हामीले वर्षेनी तालहरुको प्रचारप्रसार र प्रवद्र्धन गरिरहेका छौं ।
पर्यटकसँगै लेखनाथ क्षेत्रमा कृषि र साना तथा मझौला उद्योगहरुको सम्भावना राम्रो छ । सरकारले लगानीमैत्री वातावरण बनाउँदै लगानीका लागि यस क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक छ । लेखनाथ महोत्सवमा हामीले स्थानीय उत्पादनहरुलाई सधैं प्राथमिकतामा राख्दै आएका छौं ।
यस पटकको महोत्सवमा अवलोकनकर्ताको उत्साहपूर्ण सहभागिता रहने हामीले विश्वास लिएका छौं । लेखनाथ बासीले अपनत्व लिदै महोत्सवलाई वर्षेनी साथ दिइराख्नुभएको छ । यसपटक अझै उत्साहजनक उपस्थिति रहने र महोत्सव सफल हुनेमा हामी विश्वस्त छौं ।
Comments are closed.