लेखनाथ । पुस १८ देखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३३६ स्टलमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन् । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यवस्था मिलाइएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा बढी किसानले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन् ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफूल तथा तरकारी, बिउविजन, कृषि प्रविधिका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज बरालले जानकारी दिए ।
महोत्सवमा रहेका कृषिका २४ स्टलमध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफुलका ५, मौरी ६ र अन्य कृषिसँग सम्बन्धित स्टलहरु रहेका छन् । माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु सङ्कलन गरेर बिक्रिका लागी राखिएको छ । महोत्सवमा दैनिक रुपमा सरदर ५० केजी भन्दा बढी माछा बिक्रि हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन् ।
वि.सं २०५८ सालमा सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाबाट ल्याइएका सुन्तला पनि दर्शकले खरिद गर्न पाउनेछन् । सुन्तलाका ५ वटा स्टलमा कास्कीको पुम्दी, बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन् । ति स्टलमा दैनिक सरदर तीन सय केजी भन्दा बढी सुन्तला बिक्रि हुने गरेको छ ।
ताजा तरकारीमा स्थानीय क्षेत्रकै उत्पादनको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीदेखि कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलमा देख्न पाइन्छ । विभिन्न कृषक समुह, आमा समुहले स्थानीय किसानका उत्पादनहरु सङ्कलन गरी महोत्सवमा बिक्रि वितरणको व्यवस्था समेत मिलाएको पाइन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टले महोत्सवमा रहेका कृषि उपजका स्टलबाटै सामान खरिद गर्ने गरेका छन् ।
कृषि उत्पादनमा लेखनाथलाई निश्चित कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानीय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै बजार पाएका छन् । स्थानीय तालका माछा, मह, फलफूल, ताजा तरकारी, जडिबुटी, विभिन्न स्थानीय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सवभित्र अवलोकन गर्न आउने र दर्शकले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीको अवलोकन पनि गर्ने गरेका छन् । यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ ।
यसैगरी यसपालिको लेखनाथ महोत्सवमा पहिलो पटक महिला हक, अधिकारसंग सम्बन्धित रहेर आयोजित महिला हाजिरीजवाफ प्रतियोगिता दर्शकको रोजाइमा रहेको छ भने युवालाई लक्षित गरी कन्सर्ट तथा लोक तथा दोहोरी गीतका पारखीका लागि लोकदोहोरीका कलाकारहरु ल्याएर थप रोचक बनाएको प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले बताएका छन् ।
यसैबीच महोत्सवको सातौं दिन बुधवार करिव १२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबारतर्फ ३५ लाख बराबरको भएको र हालसम्म दर्शकतर्फ एक लाख ८ हजार र कारोवार ३ करोड ३५ लाख भएको महोत्सवका प्रचार–प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् । बुधबार विभिन्न राजनितिक दलका प्रदेश एवं महानगर तहका नेता, प्रतिनिधि एवं पुर्वमन्त्रीहरुले पनि महोत्सवको अवलोकन गरेका थिए ।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहनेछन् । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
Comments are closed.