लेखनाथ महोत्सवको तयारी तिव्र, संघसंस्था, महिला/आमा समुहहरुकोे भेला सम्पन्न

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा यहि फाल्गुन २६ गते देखि चैत्र ७ गते सम्म आयोजना गरिएको १७ औ लेखनाथ महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला आमा समुहको भेला बिहीबार संघका उपमहासचिव जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेउवा महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले आशन्न महोत्सवमा बिभिन्न जात जातीको पहिचान झल्कने झांकी र्यालीको प्रदर्शन गरी महोत्सवलाई नमुनाको महोत्सव बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथको पहिचान र यहाँ संचालन हुने जुनसुकै कार्यक्रम सफल हुनुमा यस क्षेत्रमा रहेका संघसंस्था तथा आमा समुहहरुको सक्रिय सहभागिता र एकताबाट नै सम्भव भएको औल्याउनुहुंदै आसन्न १७ औं लेखनाथ महोत्सव पनि सफल हुनेमा आफु बिश्वस्त रहेको बताएका थिए ।

सो अवसरमा मन्तव्य राख्दैै संघका अध्यक्ष एवं महोत्सव मुल संयोजक छत्रधर आत्रेयले लेखनाथ महोत्सव छुट्टै पहिचान बोकेको महोत्सव भएकाले संघबाट आयोजना गर्न लागिएको १७ औ महोत्सवले कोभिड १९ बाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाइ बिभिन्न जात जातीको संस्कृतिको जगेर्ना गर्ने थलोको रुपमा बिकास गरी यस क्षेत्रमा उत्पादन भएको बस्तुहरुको प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसै गरी संघका पुर्व अध्यक्ष एवं महोत्सवका निर्देशक लक्ष्मी प्रसाद त्रिपाठीले २०५८ सालमा सुन्तला महोत्सवबाट शुरु भएको लेखनाथ महोत्सव हाल देशकै नमुना महोत्सवको रुपमा परिचित भएको बिचार व्यक्त गरेका थिए । त्यसैगरी संघका सल्लाहकार नेत्रपाणि बास्तोलाले यस महोत्सवमा आ˗आफ्नो जात जातीको झांकी र्याली तथा रत्यौली प्रदर्शनहुने र सोको बिभिन्न बिधीहरु प्रयोग गरी मुल्यांकन गरिने बिचार व्यक्त गरे ।

यस क्षेत्रमा रहेका संघ संस्था, महिला आमा समुहका ३६२ जना प्रतिनिधीहरु, संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं सल्लाहकारहरु उपस्थिति रहेको कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए भने धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन कार्यसमिति सदस्य ईन्दिरा रोकाले गरेकी थिइन् ।

You might also like

Comments are closed.