लेखनाथ महोत्सवको मुख्य प्रायोजक बन्यो सगरमाथा इन्स्योरेन्स

काठमाडौं । लेखनाथ महोत्सवको मुख्य प्रायोजक सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड बनेको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ७ गतेबाट लेखनाथमा महोत्सव हुँदैछ । मुख्य प्रायोजनको सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चम्की क्षेत्री र संघका अध्यक्ष छत्रधर आत्रेयले हस्ताक्षर गरेका छन् ।

सगरमाथा इन्स्योरेन्सको प्रधान कार्यालय काठमाडौंसहित देशभर शाखा र उपशाखा गरी ८७ वटा सञ्जाल रहेको कम्पनीका सहायक महाप्रवन्धक कविराज पौडेलले जानकारी दिए । कम्पनीमा करिब ४ सय ५० जना कर्मचारी आबद्ध छन् ।

महोत्सव सफल बनाउन सगरमाथा इन्स्योरेन्सले मुख्य प्रायोजन गरी साथ दिएकोमा महोत्सवका प्रायोजन उपसमिति संयोजक बिक्रम कर्माचार्यले आभार व्यक्त गरेका छन् । महोत्सवको तयारी ८५ प्रतिशत सम्पन्न भइसकेको संघका उपाध्यक्ष एवं प्रचार¬–प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

लेखनाथ क्षेत्रको समग्र विकासमा महोत्सवले प्रत्यक्ष योगदान पुर्याउने आयोजकको अपेक्षा छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ मूल नाराका साथ आयोजना हुने महोत्सवमा ३ सय ३८ वटा स्टल रहने संघका महासचिव उपेन्द्रकुमार सुवेदी (राजु)ले जानकारी दिए । महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषि, अटो, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवर्द्धन, सूचना प्रविधि र उद्योगका स्टलहरु रहनेछन् ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सूचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने बताइएको छ ।

You might also like

Comments are closed.