लेखनाथ महोत्सवलाई दर्शकको अत्याधिक साथ, अनुमान गरे भन्दा बढी कारोबार

पोखरा । पोखरामा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवलाई आयोजकले अनुमान गरेभन्दा बढी दर्शकले साथ दिएका छन् । महोत्सवमा आयोजकले अनुमान गरेभन्दा बढी कारोबार भएको छ भने अनुमान भन्दा बढी दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

‘हामीले अनुमान गरेभन्दा बढी दर्शकको साथ पायौं,’ संयोजक ओझाले भने, ‘कारोबार रकम पनि हामीले अनुमान गरेभन्दा बढी भएको छ । अझै एकदिन बाँकी छ । अझै धेरै दर्शकको माया पाउँछौं भन्ने हामीलाई आशा छ ।’ महोत्सवको एघारौँ दिनसम्म आइपुग्दा कुल कारोबार रकम ११ कारोड पुगेको छ भने, २ लाख ६५ हजार दर्शकले अवलोकन गरेको संयोजक ओझाले बताए ।

पुस ७ गतेदेखि सुरु भएको महोत्सवको बीचमा चार दिन सार्वजनिक बिदा परेको थियो । जसले दर्शकको उपस्थिति उल्लेखनिय बढ्यो । दर्शकको महोत्सवप्रतिको आकर्षण र भीडले त्यहाँका व्यवसायी निकै उत्साहित भएका छन् । भोलि पुस १८ गते महोत्सवको समापन हुँदैछ ।
महोत्सवको एघारौँ दिन आज २५ हजार दर्शकले अवलोकन गरेका छन् भने १ करोड ४० लाख कारोबार भएको छ ।

jutta mela

महोत्सवको पहिलो दिन पुस ७ गते ३० हजार, दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार, १६ गते ४० हजार र १७ गते २५ हजार गरी कुल २ लाख ६५ हजार दर्शकले अवलोकन गरिसकेका छन् ।

त्यस्तै, महोत्सवमा हालसम्मको कुल कारोबार रकम ११ करोड पुगेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड २०, १६ गते १ करोड ५० लाख र १७ गते १ करोड ४० लाख गरी कुल कारोबार रकम ११ करोड पुगेको संयोजक ओझाले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । आज भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु बद्री पंगेनी, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ गायिकाहरु शान्ति श्री परियार, सुनिता नेपाली, मन्जु बिक, माया केसीको प्रस्तुति रहेको थियो भने साँझको लाइभ कन्सर्टमा एलिना चौहान, देवेन्द्र बव्लु एण्ड प्रत्यक्ष बेण्ड, टुकी (¥याप)को प्रस्तुति रहेको थियो ।

त्यस्तै, भोलि महोत्सवको अन्तिम दिन हुने लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु खुमन अधिकारी, जीवन दाहाल, कुमार पुन, शिवहरि ढुंगाना, कृष्ण अखेली, गगन गुरुङ गायिकाहरु सरला पाण्डे, पार्वती जिसी, सिता परियार, नविना सुवेदीको प्रस्तुति रहने संयोजक ओझाले बताए ।
महोत्सवमा प्रत्येक दिन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले अवलोकन गरिरहेका छन् ।

आज कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख तथा पदाधिकारीहरु, नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्षलगायत पदाधिकारीहरु, रुपा गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, मादी गाउँपालिकाका अध्यक्षलगायतका जनप्रतिनिधिहरु, पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षलगायत पदाधिकारीहरुले अवलोकन गरेका छन् ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको भोलि समापन हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् ।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।

You might also like

Comments are closed.