लेखनाथ महोत्सव आउँदो पुस १८ देखि माघ १ गतेसम्म हुँदै, तयारी तीव्र बनाइदै

पोखरा । २०औं संस्करणको लेखनाथ महोत्सव आउँदो पुस १८ देखि माघ १ गतेसम्म हुने भएको छ । पोखरा महानगरपालिका वडा नं २७, डाडाँकोनाकमा हुने महोत्सवको तयारी तीव्र बनाइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने महोत्सवमा ३३६ वटा स्टल रहनेछन् । स्थानीय कृषि तथा औद्योगिक उत्पादनमा प्रवर्द्धन, हस्तकलाका वस्तुको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष विनोद श्रेष्ठले बताए ।

“आवश्यक ज्ञान, सीप र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ” उनले भने ।

महोत्सवलाई सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको महासचिव तथा प्रचार–प्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । उनकाअनुसार ४७ वटा उपसमिति र ११७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

महोत्सवका थप आकर्षणमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामान, विद्युतीय उपकरण, फर्निचरका सामान, भान्छामा प्रयोग हुने मालसामान, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु रहनेछन् ।

लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तीय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको बिक्री एवं प्रदर्शनी महोत्सवको आकर्षण बन्ने महासचिव अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

शान्तिका दुतः गौतम बुद्धको प्रतिमा, नव प्रतिभा खोजि अन्तर्गतः खुल्ला युगल जोडि नृत्य प्रतियोगिता, महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिवृद्धिका लागिः महिला समूहहरुबीच हाजिरीजवाफ प्रतियोगिता, जातजातीको रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत कार्यक्रम, शैक्षिक प्रदर्शनी, विद्यालय स्तरीय कार्यक्रम, विद्यालय स्तरीय खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्याड, राष्ट्रिय स्तरका चर्चित कलाकारबाट लोकदोहोरी तथा स्टेज सो कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार महोत्सवको आकर्षण बन्ने विश्वास गरिएको छ ।

महोत्सवमा ३३६ वटा स्टलमध्ये अटो प्रदर्शनी स्टल ६, शैक्षिक तथा ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड वेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहनेछन् ।

सदस्यलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ मङ्सिर १७ गतेदेखि खुल्ला गरिएको जनाइएको छ । अन्य व्यवसायीका लागि मङ्सिर २४ गतेदेखि बुकिङ खुल्ला गरिने बताइएको छ । सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप दुई हजार रूपैयाँ उपलव्ध गराइने बताइएको छ ।

लेखनाथ क्षेत्रको समग्र आर्थिक विकास र उद्योगी व्यवसायीको हकहितको संरक्षण र संवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ वि.सं २०५४ साल असार २० गते लेखनाथ उद्योग वाणिज्य संघको स्थापना भएको हो । यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन तथा आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धनका लागि भन्दै संघले वि.सं २०५९ र २०६० मा सुन्तला प्रदर्शनी, २०६१ मा सुपथ मूल्य बजार र लेखनाथ महोत्सव सम्पन्न गरिएको थियो ।

वि.सं २०६१ सालदेखि सञ्चालन हुँदै आइरहेको लेखनाथ महोत्सव २०औं संस्करणमा आइपुगेको छ । लेखनाथ महोत्सवमा दर्शकको आकर्षण देखिन्छ । यसपटक अझै धेरै दर्शकको आकर्षण देखिने आयोजकको विश्वास छ । महोत्सवको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले महोत्सव सफल बनाउन मुख्य प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए ।कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, उपमहासचिव भरत ओझा, पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले महोत्सवका सन्दर्भमा आफ्ना भनाइ राखेका छन् ।

lcci
You might also like

Comments are closed.