लेखनाथ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ गतेबाट लेखनाथमा शुरु भएको २१औं संस्करणको लेखनाथ महोत्सव जारी छ । आज शनिबार भएकाले महोत्सव अवलोकनकर्ता धेरै हुने आयोजकको अनुमान छ ।
महोत्सवमा आज लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, मिरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर, गगन गुरुङ र शिवहरी ढुंगानाले प्रस्तुती दिनेछन भने हाँस्यव्यग्यतर्फ राजेन्द्र गिरी (गुन्द्रुके) र बेलुका सुगम संगिततर्फ रचना रिमाल र डेभीड शंकरले प्रस्तुती रहने कलाकार संयोजक भरत कुमार अधिकारीले जानकारी दिए ।
रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न जातजातिका सास्कृतिक प्रस्तुती पनि महोत्सवको आकर्षण बनिरहेको छ । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले बताए ।
महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको संघका अध्यक्ष जानुका अधिकारी पराजुलीले जानकारी दिइन् ।
त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी छन् । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टल रहेको महोत्सवका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ । महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।को मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी रहेका छन् ।





Comments are closed.