lcci festival

लेखनाथ महोत्सवको आज दोस्रो दिन, यस्ता छन् आकर्षण

लेखनाथ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि नारा सहित लेखनाथको तालचोकमा हिजो बुधबारदेखि लेखनाथ महोत्सव शुरु भएको छ । महोत्सव पुष १४ गतेसम्म संचालन हुने छ । महोत्सवमा हरेका दिन विभिन्न आकर्षण रहने छन् ।

आज दोस्रो दिन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत लोक दोहोरीतर्फ घनश्याम रिजाल, श्याम कुमार पुन, कृष्णा रिजाल, शिवहरी ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुड, अमृता दाहतलको बिशेष प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबाबु भट्टराईले बताए । रत्यौली नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न जातजातिको सांकतिक प्रस्तुती पनि रहने छन् । बेलुका अपरिचित, द सप्तक, साजन एण्ड फोनिक्स ब्याण्डको लाइभ कन्सर्ट हुने छ ।

महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ ।

त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी छन् । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने संघका अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।  । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु छन् ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवका प्रचार प्रसार संयोजक भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने उनले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ । महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.को मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी रहेका छन् ।

 

You might also like

Comments are closed.