गत सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (दुबई) का लागि नियमित उडान सुरु भएको छ । यो केवल एउटा नयाँ अन्तर्राष्ट्रिय हवाई रुटको सुरुवात मात्र नभई पर्यटन राजधानी पोखरा, गण्डकी प्रदेश र समग्र देशकै अर्थतन्त्रका लागि एक ऐतिहासिक माइलस्तम्भ हो । विश्वप्रसिद्ध एयरलाइन्स ‘इमिरेट्स’सँगको कोड–सेयरिङमार्फत अब पोखराबाट विश्वका ३०० भन्दा बढी गन्तव्यहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष पहुँच स्थापित भएको छ, जसले पोखरेली र गण्डकीवासीले वर्षौँदेखि देखेको सपनालाई साकार पारेको छ ।
नेपालको घोषित ‘पर्यटन राजधानी’ पोखरालाई विश्वसँग प्रत्यक्ष जोड्ने यो विमानस्थलले काठमाडौँ केन्द्रित यातायात पूर्वाधारको बाध्यतालाई अन्त्य गरिदिएको छ । पहिले पोखरा आउन विदेशी पर्यटकहरूले लामो र सास्तीपूर्ण यात्रा तय गर्नुपथ्र्यो भने अब विश्वका जुनसुकै कुनाबाट दुबई हुँदै सिधै पोखरा अवतरण गर्ने सहज वातावरण बनेको छ । यसले विदेशी पर्यटकको आगमनलाई उल्लेख्य रूपमा बढाउनुका साथै स्थानीय होटल, रिसोर्ट, रेस्टुरेन्ट, एडभेन्चर स्पोट्र्स तथा हस्तकला उद्योगमा नयाँ ऊर्जा भर्नेछ । यसबाट सिर्जना हुने आर्थिक गतिविधिले स्थानीयस्तरमै हजारौँ नयाँ रोजगारीका अवसरहरू सिर्जना गरी समग्र प्रदेशको समृद्धिमा टेवा पु¥याउनेछ ।
यसका साथै, गण्डकी प्रदेश र आसपासका क्षेत्रबाट वैदेशिक रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा विदेश जाने नागरिकहरूका लागि अब काठमाडौँ धाइरहनुपर्ने बाध्यता छुटेको छ । यसले उहाँहरूको समय, हतारो र थप आर्थिक बोझलाई जोगाउनेछ । ठूलो लगानी र दशकौँको प्रयासपछि निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो आफ्नै पूर्वाधार हो, हाम्रै आवश्यकता हो र देशको भविष्यसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय सम्पत्ति हो । तर, यस पूर्वाधारलाई सफल र दिगो बनाउन सरकार वा विमानस्थल प्रशासनको प्रयास मात्र पर्याप्त हुँदैन; यसका लागि नागरिक तहबाट निरन्तर प्रयोग, विश्वास र अपनत्व आवश्यक छ ।

पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानहरूको निरन्तरता र थप नयाँ गन्तव्यहरूको विस्तार यहाँबाट यात्रा गर्ने यात्रुहरूको संख्यामा नै निर्भर रहन्छ । त्यसैले, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा अबको विदेश यात्रा वा नेपाल फर्कने यात्रा सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्न हार्दिक अपिल गर्दछु । ‘एकपटक पोखराबाट यात्रा गरौँ, पोखरा हुँदै संसारसँग जोडिऔँ’ भन्ने भावनाका साथ आफ्ना परिवार, साथीभाइ र देश–विदेशमा रहेका आफन्तहरूलाई पनि यही रुट प्रयोग गर्न प्रेरित गरौँ । हामीले गर्ने एउटा यात्रा र दिने एउटा सकारात्मक सन्देशले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थायित्व र नयाँ उडानहरू भित्र्याउन ठूलो योगदान पु¥याउनेछ । पोखरालाई विश्वसँग जोड्ने यो अभियानमा हामी सबै एकजुट बनौँ ।
(मेयर आचार्यले फेसबुकमार्फत सार्वजनिक गरेको विचारलाई सम्पादनसहित साभार गरिएको । सम्पादक)




Comments are closed.