चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

काठमाडौं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ ।

लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, “कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ ।”

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले बताए ।

विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ । आगामी दिनमा पनि अनुमतिपत्रको समस्या आउन नदिने कुरामा ध्यान दिइने उनले बताए । विगतमा प्राविधिक समस्या आएकाले अब ठेक्का गर्दा ती कुरामा ध्यान दिइन्छ ।

सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् । पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् ।

दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

You might also like

Comments are closed.