पोखरा । लायन्स क्लब अफ पोखराले जिल्ला प्रहरी कार्यालयलाई भान्साका सामग्री सहयोग गरेको छ । जेनजी आन्दोलनमा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी कार्यालयलाई रु १ लाख बराबरको भान्साका सामग्री सहयोग गरेको क्लबका अध्यक्ष देवेन्द्र नकर्मीले जानकारी दिए ।
“जनतालाई सेवा दिने प्रहरी कार्यालय नै क्षतिग्रस्त भएपछि सेवा प्रवाहमा चुनौती थपिएको छ, कार्यालयको सेवालाई सहज बनाउन भान्सामा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गरिएको छ” अध्यक्ष नकर्मीले भने,–“अहिलेको विषम परिस्थितिमा सरोकारवाला निकाय र समुदाय हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ, क्षतिग्रस्त सार्वजनिक संरचना मर्मत तथा सम्भारमा हाम्रो पनि दायित्व हो भन्ने सेवा भावले आ–आफ्नो ठाउँबाट काम गरौँ” ।
देशको कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय प्रहरी प्रशासनामाथि परेको यस विपद् समयमा सानो सहयोगले मनोबल बढोस् भन्ने उद्धेश्यले सहयोगस्वरुप भान्साका सामग्री उपलब्ध गराइएको डिस्ट्रिक्ट भाइस गभर्नर योगेन्द्र प्रधानले बताए ।
देशमा परेको यस विषम परिस्थितिमा आफूले जहाँबाट जति सकिन्छ, सहयोग गरेर सार्वजनिक सम्पत्तिको रक्षा गर्नु नागरिकको जिम्मेवारी ठानेर काम गरियो भने सेवा प्रदायक निकाय र सेवाग्राहीलाई सहज हुने कार्यक्रम संयोजक दिपेन्द्र कोइराला बताउँछन्। यस्ता सहयोगी गतिविधिले आपसी विश्वास, सहकार्य र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।
लायन्स क्लबले ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विपद्को परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय ध्वस्त भएपछि दैनिक प्रशासनिक कामकाज प्रभावित भइरहेका छन् ।
विभिन्न सहयोगी निकायको सहयोगले अत्यावश्यक आवश्यकता पूरा गर्न मद्दत पुग्नेछ । आगलागीबाट जलेर ध्वस्त बनेको प्रहरी कार्यालयलाई विभिन्न संघसंस्थाबाट सहयोगहरु जुटिरहेको छ ।
Comments are closed.