लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।

कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले अझ सशक्त बनाउनुका साथै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने बताएका छन् । नेपाली क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए ।

यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ । यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकाले यस एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ । शनिवारदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

 

You might also like

Comments are closed.