काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कठिन आर्थिक परिस्थितिसहितका चुनौतीपूर्ण अवस्थामाझ पनि कम्पनीले शेयरधनीका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ । निरन्तर उत्कृष्ट प्रदर्शनका कारण नेपाल ल्यूब आयल लिमिटेड आज एक सफल र विश्वसनीय संस्थाको रूपमा स्थापित भएको छ । कम्पनीको निरन्तर विकास, शेयरधनीप्रतिको दायित्व र पारदर्शी व्यवस्थापनको शेयरधनीहरूले सभामा प्रशंसा गरेका छन् ।
अध्यक्ष अरुण कुमार चौधरीले गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको बताए । गत वर्षजस्तै यसवर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट शेयरधनीहरू उत्साहित देखिएका छन् ।
नेपाल ल्यूब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्राण्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ । गल्फ ब्राण्ड विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो । जसका उत्पादनहरू नेपालमा अत्यन्तै रुचाइएका छन् ।
विभिन्न अटोमोबाइल र मेसिनरीका आवश्यकतालाई समेट्ने उत्पादन विविधताका कारण गल्फ ब्राण्ड नेपाली बजारमा प्रतिष्ठित र विश्वसनीय नामको रूपमा स्थापित भएको छ । सभामा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा शेयरधनी सहभागी थिए ।
Comments are closed.