रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ संकलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो ।
आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम संकलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए। अघिल्लोपटक तीन महिनामा एकपटक गणना गरिएकामा यस पटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो ।
गत असोज ३० गते गरिएको भेटी गणनामा रु २७ लाख १८ हजार दानबापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थालिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ।
अहिले लुम्बिनी भ्रमणको मौषम समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यान्मा, भियतनाम र युरोपबाट समेत पर्यटक आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए। लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार दुई सय पाँच आन्तरिक पर्यटकले भ्रमण गरेका छन्।
यस्तै यस अवधिमा भारतबाट ३८ हजार ६ सय ८९, तेस्रो मुलुकबाट सात हजार चार सय ७३ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ। सन् २०२२ को नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
त्यस्तै यस अवधिमा भारतबाट एक लाख ८८ हजार र भियतनाम, म्यान्मा, थाइल्यान्ड, श्रीलङ्कालगायत ८४ मुलुकबाट एक लाख ८१ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाको तथ्यांकमा उल्लेख छ ।








Comments are closed.