तनहुँ । म्याग्देगाउँपालिका–४ निवासी सुकला सुनारले गुडिया बनाउने तालीम सिकेपछि गुडिया बनाएर परिवार पाल्न आफूमा आत्मबल बढेको बताएकी छन् । गाउँपालिकाले दिएको १० दिनको तालीमबाट सिकेको सीपलाई सदुपयोग गर्दै आयआर्जन क्षेत्रमा समय बिताउने लक्ष्य रहेको उनले बताइन् । “हातमा सीप भएपछि यत्तिकै बस्दिन”, उनले भनिन्, ‘अब घरमा बसेर काम गरी दैनिकी खर्च जुटाउन सहयोग पुग्ने अपेक्षा गरेको छु ।”
तालीममा सहभागी अर्का म्याग्दे–५ निवासी कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्छु भन्ने आत्मविश्वासका साथ तालीम लिएको बताइन् । सीप जानेपछि आफूमा उत्साह मिलेको छ । उनले भनिन्, “साँच्चीकै बेरोजगार र गृहिणी महिलालाई केन्द्रित गरी तालीम प्रदान गरेर सक्षम बनाएको महसुस गरेको छु ।”
जिल्लाको म्याग्दे गाउँपालिकाको आयोजनामा केही दिनअघि गरिबी निवारणका लागि लघुउद्यम सीप विकास कार्यक्रमअन्तर्गत ३४ जना महिलालाई १० दिने तालीम प्रदान गरेको थियो । गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई आयआर्जन गर्न यस किसिमको तालीम निकै प्रभावकारी हुने बताए । थोरै लगानीमा कोठा भाडामा नलिई आफ्नै घरमा बसी राम्रो आम्दानी गर्न सक्ने अवसर रहेको उनले बताए ।
महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीम प्रदान गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । तालीम प्रदानपश्चात् महिला खुशी भएका छन् । सिकेको सीपलाई व्यवहारमा लागू गरे÷नगरेको अनुगमन गरिने उनले बताइन् । गाउँपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन यस किसिमको तालीम उपयोगी हुने सोचेर तालीमको आयोजना गरिएको उनले बताइन् । तालिममा विधाता हस्तकला उद्योग पोखराकी संचालक सविता श्रेष्ठ रञ्जितले सहजिकरण गरेकी थिइन् ।




Comments are closed.