यसरी हुँदैछ कास्कीको पुम्दीकोटमा विशाल शिवमूर्ति निर्माण

पोखरा । पोखराको पुम्दीभुम्दीमा विशाल महादेवको मूर्ति निर्माणको कामले तिब्रता लिएको छ । पुम्दीकोट कोट विकास समितिले महादेवको मूर्ति निर्माणसहित अन्य संरचना निर्माणको काम गरिरहेको छ । मूर्ति निर्माणको काम करिब ९० प्रतिशत सकिएको समितिका अध्यक्ष एवं निर्माण समिति संयोजक चन्द्रकान्त बरालले आर्थिक आवाजलाई जानकारी दिए ।

समितिले ४० करोड रुपैयाँको लागतमा परियोजनाको काम अगाडि बढाइरहेको छ । मूर्ति निर्माणको सम्पूर्ण काम आगामी असोजसम्म सम्पन्न गरी उद्घाटन गर्ने तयारीमा समिति रहेको बरालले बताए ।

समग्र प्रोजेक्टको काम करिब ४५ प्रतिशत सकिएको उनले बताए । ‘समग्र प्रोजेक्ट सम्पन्न गर्न अझै २ वर्ष लाग्छ,’ उनले भने । २२ रोपनी जग्गामा परियोजना अन्तर्गतको काम भइरहेको छ ।

महादेवको मूर्ति ५१ फिट उचाईको रहेको छ । जुन मूर्तिको सम्पूर्ण खर्च उद्योगपति कमल जैनले गरेका हुन् । उक्त स्थानमा शिवलिंगको आकारमा भवन बनाइएको छ । जुन भवन संसारकै सबैभन्दा ठूलो शिवलिंग आकारको भवन रहेको बराल बताउँछन् । ‘संसारकै सबैभन्दा ठूलो डमरु बनाउने गुरुयोजना पनि छ,’ उनले भने ।

परियोजनाको समग्र काम सम्पन्न गर्न संघीय, प्रदेश र स्थानीय सरकारको सहयोग प्राप्त भएको बरालले बताए । ‘निजी क्षेत्र, संघसंस्था तथा व्यक्ति विशेषबाट सहयोग प्राप्त भइरहेको छ,’ अध्यक्ष बरालले भने, ‘यो महान अभियानमा सहयोग आउने क्रम जारी छ ।’ ६ करोड १८ लाख नगद उठेको सहयोग संकलन हुने क्रम जारी रहेको बरालले बताए । वीरगन्ज निवासी मुरलीधर रुगँटाले मात्र यो परियोजनाका लागि १ करोड रुपैयाँ सहयोग गरेका छन् । समितिका अध्यक्ष बरालले पनि यो परियोजनाका लागि १ करोड रुपैयाँ सहयोग गरेका छन् ।

‘शिवलिंग निर्माणसहित अन्य संरचना तयार बनाउने काम धमाधम भइरहेको छ,’ बरालले भने । पुम्दीकोटमा शिवलिंग निर्माण पश्चात त्यस क्षेत्रमा धार्मिक पर्यटकको संख्या अत्यन्त बृद्धि हुने बराल बताउँछन् । ‘समग्र पोखरासहित गण्डकी प्रदेशकै पर्यटन गतिविधिमा यो संरचनाले योगदान पुर्याउनेछ,’ उनले भने ।

पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेव मूर्ति स्थापना गर्न लागिएको बरालले बताए । पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृंखला अवलोकन गर्न सकिन्छ । समितिले बृहत् गुरुयोजना तयार गर्दै त्यसअनुरुप काम अघि बढाएको समितिका सहसचिव प्रकाश बरालले बताए । लक्षित योजना अनुसार पहिलो चरणमा महादेवको मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायतका संरचना निर्माण गर्ने योजना छ ।

समितिले दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना बनाएको छ । यो ठाउँबाट पोखराको फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खला एकसाथ देख्न सकिन्छ ।

lcci
You might also like

Comments are closed.