काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा थ्रीडी सुरक्षित कार्ड थप गरेको छ । नेपालमा थ्रीडी सुरक्षित कार्ड सुविधा प्रदान गर्नेमा विकास बैंकमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।
ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन थ्रीडी सुरक्षित कार्ड सुविधा थप गरेको हो ।
यस सुविधा थप गरेसँगै ग्राहकले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ । ग्राहकको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ ।
यस प्रक्रिया अन्तर्गत ग्राहकले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमिक्त इमेल वा म्यासेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड प्राप्त गर्नेछन् । सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।
यस सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।
यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्ने, ग्राहकको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पहुँचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न, रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने यसका फाइदा छन् ।
साथै विश्वभर रहेका हजारौँ इकमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकाले ग्राहकले जुनसुकै ठाउँबाट तथा जुनसुकै समयमा पनि किनमेल गर्न सकिने सुबिधा रहेको छ ।
थप जानकारी तथा सहायता आवश्यक परेमा ग्राहक सहायता कक्ष तथा बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने बताइएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।
Comments are closed.