काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३ औँ वार्षिक साधारण सभा सकिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमवार एलिस रिसेप्सन्स काठमाडौंमा सम्पन्न भएको छ ।
यस अवसरमा गत असार मसान्तको वासलात तथा आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसैगरी वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ ।
यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आ.व.०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ ।
आ.व. ०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आ.व. ०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आ.व. ०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।
सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे ।
Comments are closed.