महालक्ष्मी विकास बैंकको वित्तीय परिसुचकमा सुधार

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले रु. ५६.२२ अर्ब निक्षेप सङ्कलन गर्न सफल भएकोमा रु. ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।

साथै आ.व.२०८१/८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ । जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ साउन मसान्तसम्म ६.५४ प्रतिशत रहेको छ ।

बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् । हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ एप महालक्ष्मी स्मार्ट साथीमा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

You might also like

Comments are closed.