महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्प प्रालि बीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो ।

समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

You might also like

Comments are closed.