नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छाता भित्र देशभरका हेभी इक्विपमेन्ट व्यवसायीहरु आबद्ध छन् । महासंघ भित्र राजधानी काठमाडौं लगायतका देशभरका जिल्ला संघहरुको आबद्धता छ । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशन वैशाख १८ गते काठमाडौंमा हुँदैछ । यसैक्रममा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंका अध्यक्ष मेजर समशेर कुँवर (महेश)सँग गरिएको संक्षिप्त कुराकानीः
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंमा पछिल्लो समय कति जना सदस्य आबद्ध हुनुहुन्छ ?
काठमाडौंमा रहेका व्यवसायीलाई संस्थागत रुपमा संगठित गर्दै नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौं स्थापना भएको हो । ताराबहादुर कँुवरको अध्यक्षतामा वि.सं २०६६ सालमा संघ स्थापना भएपछि व्यवसायीहरु संस्थागत रुपमा जोडिएका छन् । हाल संघमा १५ जनाको कार्यसमिति र ३ जना सल्लाहकार समिति हुनुहुन्छ । म आफू कार्यसमितिको उपाध्यक्ष हुँदै अहिले काठमाडौं जिल्ला संघको अध्यक्ष भएर नेतृत्व गरिरहेको छु । संघमा १६३ जना सदस्य रहनुभएको छ ।
व्यावसायिक हितमा संघले कसरी काम गरिरहेको छ ?
हेभी इक्विपमेन्ट व्यवसायीहरु एवं संघका सदस्यलाई आइपरेका विभिन्न समस्याहरु समाधानमा संघ एकजुट भएर लागेको छ । हामीले काठमाडौं संघमा आबद्ध व्यवसायीको मात्र नभएर सबै जिल्लामा रहेका व्यवसायीको समस्यामा ऐक्यबद्धता जनाउँदै उनीहरुको हकहितका लागि कार्य गरिरहेका छौं । देशैभरका व्यवसायीलाई एकजुट बनाउने, जागरुक बनाउने, जिल्लास्थित संघ तथा केन्द्रीय महासंघमा आबद्ध हुन आह्वान गर्ने काम निरन्तर गरिरहेका छौं ।
यो व्यवसायमा लाग्नेहरुले भोगेका समस्याहरु केकस्ता छन् ?
हेभी इक्विपमेन्ट क्षेत्रमा आबद्ध व्यवसायीले विभिन्न समस्यासँग जुँधेर काम गर्नु परेको अवस्था छ । एक ठाउँबाट अर्को ठाउँमा उपकरण लैजादा ट्राफिक प्रहरीले दुःख दिने गरेका छन् । बैंकबाट ऋण लिएर उपकरण खरिद गरिएको हुन्छ । राज्यले हामी व्यवसायीबाट कर उठाइरहेको छ तर यस क्षेत्रको विषयमा निम्तिएका समस्या समाधानमा राज्य उदासिन बनेको छ । दोहोरो कर, आर्थिक मन्दीले व्यवसायमा मन्दी, काम भएपनि बजारबाट पैसा नउठ्ने लगायत विविध समस्याको सामना गरिरहनु परेको छ ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महाधिवेशन काठमाडौंमा हुँदैछ । महाधिवेशनका सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको यही वैशाख १८ गते काठमाडौंमा तेस्रो महाधिवेशन हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि देशैभरका सबै जिल्ला संघलाई नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको तर्फबाट हार्दिक अनुरोध गर्दछु । महाधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउन हामी तयारीमा जुटेका छौं । महाधिवेशनमा सहभागी हुन देशभरबाट काठमाडौं आउने सम्पूर्ण हेभी इक्विपमेन्ट व्यवसायीलाई नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको तर्फबाट हार्दिक स्वागतसमेत गर्दछु ।
Comments are closed.