हावाहुरीका कारण मकै बालीमा क्षति

कालीकोट । कालीकोट जिल्लामा वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । बुधबार राति आएको वर्षासँगैको हावाहुरीले जिल्लाका अधिकांश ठाउँमा क्षति पुर्‍याएको हो ।

हावाहुरीका कारण सान्नी त्रिवेणी गाउँपालिका-८ र ९ मा सबैभन्दा बढी मकै बालीमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । “गाउँपालिकाको मुख्य खाद्यान्न बालीका रूपमा लगाइने मकै बाली हावाहुरीले नष्ट गरेको छ”, उनले भने, “घोगा लाग्न लागेको बेला मकै बाली नष्ट गरेकाले किसान समस्यामा परेका छन् ।”

त्यस्तै वडा नं ६ पोरिबनस्थित बलै, तारेढुङ्गा, बुढगाउँ, माटेखर्क, भुवाडीपाटालगायत स्थानमा पनि मकैबाली नष्ट भएको स्थानीयवासी दन्तराज सज्यालले बताए । हावाहुरीले नरहरिनाथ गाउँपालिकाको वडा नं ३ लगाइएको मकै बालीमा पनि क्षति पुर्‍याएको स्थानीयवासी रामबहादुर बुढाले बताए ।

“मकैबाली नष्ट गरेको हुँदा अब अर्को बाली लगाउने अवस्था पनि छैन”, उनले भने, “पाखो बारीमा मकैबाहेक अरु केही पनि हुँदैन । त्यही पनि हावाहुरीले नष्ट गर्‍यो अब के गर्ने होला ?”

कालीकोटमा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको मकैबाली हावाहुरीले नष्ट गर्दा किसानले भोकमरी बढ्ने चिन्ता गरेका छन् । जिल्लाभर नै प्रमुख बालीका रूपमा मकै बालीलाई लिने गरिएको र किसानले लगाएको बालीको बीमा गर्ने नीति अवलम्बन गरिएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य बताए ।

“थोरै जमिनमा लगाइएका अन्नबाली विभिन्न प्रकोपका कारणले नष्ट हुने गरेको छ”, उनले भने, “त्यसैले हामीले अन्नबालीको बीमा अनिवार्य गर्ने नीति लिएका छौँ ।”

You might also like

Comments are closed.