रासायनिक मल उपलब्ध गराउन किसानको माग

काठमाडौं । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् ।

उनीहरुले मल आपूर्तिका लागि संघर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षणपत्र बुझाउँदै एक वर्षदेखि रासायनिक मल अभाव झेल्दै आएकाले हालको आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा पनि मल सहज आपूर्ति नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

उनीहरुले बिहीबार पाँचखाल बजार र सदरमुकाम धुलिखेलमा मल माग गर्दै र्‍यालीको आयोजना गरी ध्यानाकर्षणपत्र बुझाएका थिए । प्रजिअ पाण्डेले किसानको ध्यानाकर्षणपत्र बुझ्दै किसानको समस्याप्रति आफू निकै गम्भीर भएको र समस्या समाधानार्थ केन्द्रीय निकायमा सहजीकरण गर्ने बताए ।

तिहारअघि रासायनिक मल सहजरूपमा उपलब्ध रासायनिक मल आपूर्ति सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले माग गरे ।

You might also like

Comments are closed.